arrow

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानून आए जेल भर्ने आन्दोलन गर्छौँं : धवल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
dhawal-samser-rana-19-03.jpg

काठमाडौँ। नेता धवल शमशेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानून ल्याइए आफूहरू जेल भर्ने आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई कानुनमार्फत रोक्न खोजिए लाखौंको संख्यामा जेल जान तयार रहेको बताए।

‘यदि राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दूवादी तथा संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलनमा उत्रिन्छौं। लाखौंको संख्यामा जेल जान तयार छौं,’ उनले भने।

राणाले आफूहरू संवैधानिक राजतन्त्र, सनातन धर्म तथा किराँत र बौद्ध धर्मलाई समेट्ने हिन्दू अधिराज्य स्थापनाको लक्ष्यसहित नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको बताए।

सरकारले नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कानुन ल्याइए नेपाली जनता चूप लागेर नबस्ने दाबी गरे।

पत्रकार सम्मेलनमा दुर्गा प्रसाईं अनुपस्थित रहेको विषयमा उनले कुनै मनमुटाव नरहेको स्पष्ट पारे।

‘उहाँ सुकुम्बासीहरूसँगको कार्यक्रममा जानुभएको हो। हामीबीच कुनै मतभेद छैन, एउटै एजेन्डामा छौं,’ उनले भने।

राणाले विभिन्न राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गरेर नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार दल यसै महिनाभित्र दर्ता गरिनेछ भने अर्को महिनामा औपचारिक घोषणा सभा आयोजना गरिनेछ। स्थानीय तह निर्वाचनमा बलियो रूपमा सहभागी हुने तयारीसमेत भइरहेको उनले बताए।

प्रधानमन्त्रीले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गरे आफूहरूले स्वागत गर्ने भए पनि वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रकै पक्षमा रहेको देखिएको उनको टिप्पणी थियो।

‘राजतन्त्र र हिन्दू राष्ट्र कायम गरिए हामी स्वागत गर्छौंँ। तर अहिले सरकारका गतिविधि हेर्दा त्यस्तो संकेत देखिँदैन,’ उनले भने।

राणाले देशभरका राष्ट्रवादी, राजावादी र हिन्दूवादी नागरिकलाई निर्माणाधीन नयाँ पार्टीमा आबद्ध हुन आग्रह गर्दै यसलाई व्यक्तिको नभई विचारको पार्टी बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ