काठमाडौँ उपत्यकामा २४ घण्टामा दुई हजार बढी सवारीचालक परे कारबाहीमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
241
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १७६ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकिङका क्रममा उनीहरूलाई कारबाही गरेको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमध्ये तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २०२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०१ जना र मादकपदार्थ सेवन गरी सवारी चलाउने ८१ जना चालक रहेका छन्।
यसैगरी लेन अनुशासन पालना नगर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११० जना, सडक फुटपाथमा पार्किङ गर्ने ११० जना र एकतर्फी सडकमा सवारी गुडाउने ६६ जना चालक कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम पालना नगरेका १ हजार ५५ जना चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको यस चौतर्फी कारबाहीबाट पछिल्लो २४ घण्टामा मात्रै १० लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।