नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
328
Shares
काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ। कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान (रिजिड पेभमेन्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्याउने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो। मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उनले जानकारी दिए।
योजना प्रमुख ओझाका अनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति भने ८८ प्रतिशत पुगिसकेको छ। दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे भइसकेको छ। मौसमको अनुकूलता हेरेर बाँकी काम वर्षा अगाडि नै पूरा गर्ने आयोजनाको लक्ष्य छ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए। बिटुमिन आपूर्ति सहज भए यता नौबिसे–मलेखु खण्डमा मात्र थप ३ हजार ३ सय मिटर कालोपत्रे भइसकेको छ। हाल निर्माण कम्पनीले दैनिक ४ सय देखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको भए पनि वर्षातका कारण बिहानदेखि बेलुकासम्म लगातार काम गर्न भने केही प्राविधिक कठिनाइ भइरहेको घिमिरेले बताए।
प्रतिकूल मौसम र विभिन्न व्यवधानका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ। वर्षात् पूर्ण रूपमा सक्रिय हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुनः कालोपत्रे गरी झन्झटमुक्त र सुरक्षित सवारी आवागमन गराउन आयोजनाले उच्च प्राथमिकता दिएको छ।