मेची राजमार्गको माइखोला खण्ड भासियो, पूर्वी पहाडको ‘लाइफलाइन’ ठप्प
वैकल्पिक सडक पनि अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
265
Shares
काठमाडौँ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। निरन्तरको वर्षा र कमजोर भूबनोटका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग बिहीबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक सञ्चालन हुन नसक्दा इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने मुख्य मार्ग विच्छेद भएको छ। यसबाट दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्ज्याङ क्षेत्रमै रोकिएका छन्।
राजमार्ग अवरुद्ध हुँदा आकस्मिक उपचारका लागि तराई रेफर गरिएका बिरामीहरूलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता आइलागेको छ। यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा तरकारी जस्ता कुहिने कृषिजन्य सामग्रीहरू बजारसम्म पुर्याउन नपाउँदा लाखौँको आर्थिक क्षति भएको छ।
अवरोध हटाउन सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले स्काभेटर तथा जनशक्ति परिचालन गरे पनि निरन्तरको वर्षाले काममा बाधा पुर्याएको छ। सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले केवल पहिरो पन्छाएर मात्र तत्काल सडक सुचारु गर्न सम्भव छैन। खोलाको बगरबाटै ठुलो ग्याबियन पर्खाल उठाएर काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने प्राविधिकहरूको भनाइ छ।
मुख्य राजमार्ग ठप्प भएपछि सवारी साधनहरूले बेलासे–इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजे पनि मेची करिडोर अन्तर्गत पुवाखोलामा पुल नहुँदा साना तथा ठुला गाडीहरू वारपार गर्न सकेका छैनन्। बाढी र हिलोका कारण सो मार्ग पनि अवरुद्ध प्रायः छ।
हाल स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने ग्रामीण सडक खण्डबाट साना सवारी साधनहरू (जिप, ट्याक्सी) लाई मात्र आंशिक रूपमा सञ्चालन गराइएको छ। तर, सो सडक अत्यन्तै साँघुरो र हिलाम्मे भएकाले यात्रा निकै जोखिमपूर्ण र ढिला भइरहेको छ। ठुला बस र मालवाहक सवारी साधन पूर्ण रूपमा रोकिँदा यात्रुहरू हिँडेरै वा गाडी परिवर्तन गर्दै यात्रा गर्न बाध्य छन्।