दुई सय १३औँ भानुजयन्ती मनाइँदै, यसकारण खास छ भानुभक्तको सम्झना
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
479
Shares
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेका रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।
महत्व भानु जयन्तीकोः
नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा मनाइने एउटा विशेष उत्सव भानु जयन्ती हो। हरेक वर्ष असार २९ गते नेपालभर र संसारभर छरिएका नेपालीभाषीहरूले यसलाई विशेष महत्त्वका साथ मनाउने गर्छन् ।
आफ्नो भाषा र संस्कृतिको पहिचान जोगाउने र आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्ने दिन नै भानुभक्त जयन्ती हो। हामी उनले साहित्यमा भित्राएको सरलता र मिठासलाई स्मरण गर्छौं।
यो दिवस मनाउनुका मुख्य कारणहरूमा उनको योगदानलाई सम्झन्छौँ ।
१, उनले नेपाली भाषाको एकीकरण गरे । अर्थात् भानुभक्तभन्दा अगाडि नेपाली भाषामा सानातिना फुटकर रचनाहरू त थिए, तर सबैले बुझ्ने सरल भाषामा ठूला साहित्यिक कृतिहरू थिएनन्। उनले संस्कृतमा रहेको 'रामायण' लाई सरल नेपाली भाषामा अनुवाद गरेर ठूलो गुन लगाए । जसरी पृथ्वीनारायण शाहले भौगोलिक रूपमा नेपालको एकीकरण गरे त्यसरी नै भानुभक्तले भाषा र संस्कृतिका माध्यमबाट सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरे।
२, भानुभक्तले आफ्नो मातृभाषा, साहित्य र संस्कृतिको जगेर्ना गरे ।
३, भानुभक्त सांस्कृतिक एकताका प्रतीक हुन् अर्थात् यो दिवस केवल नेपालमा मात्र नभई भारतको दार्जीलिङ, सिक्किम, असम तथा विश्वका विभिन्न कुनामा रहेका नेपालीभाषीहरूले पनि उत्तिकै उत्साहका साथ मनाउँछन्। यसले संसारभरिका नेपालीहरूबीच भाषिक र सांस्कृतिक एकता कायम राख्न मद्दत पुर्याउँछ।
४, भानुभक्तलाई आदिकविको पदवी दिइएको छ । नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानकै कारण उनलाई 'आदिकवि' अर्थात् पहिलो कविको उपाधि दिइएको हो ।
उनको जन्म १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो भने मृत्यु तनहुँकै सेतीघाटमा वि.सं. १९२५ असोज ६ गते ५४ वर्षको उमेरमा भएको थियो ।
उनको लेखनमा सन्देश हुने गर्दथ्यो । भानुभक्तले धेरैजसो आध्यात्मिक र रामायणका प्रसङ्गहरू लेखे पनि, उनका केही मौलिक कविताहरू अत्यन्तै मार्मिक, समसामयिक र हृदयस्पर्शी छन्। उनको जीवनकै सबैभन्दा मार्मिक र मानिसको चेतना खुलाउने कविता 'घाँसी' हो। यो कवितामा एउटा गरिब घाँसीको परोपकारी भावना र कविको आत्मग्लानि तथा जीवनबोधलाई बडो सुन्दर ढङ्गले उतारिएको छ।
'घाँसी' कविताको एक टुक्राः
भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो,
नाम् क्यै रहूस् पछि भनी कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन आज यस्तो ।।
उनी व्यङ्ग्यात्मक तर मार्मिक कविता पनि उत्तिकै बेजोडले लेख्थे । अदालती कामको सिलसिलामा काठमाडौँ आउँदा यहाँको प्रशासनिक ढिलासुस्तीले दुःख पाएपछि जंगबहादुर राणाका भाइ हाकिम कृष्णबहादुरलाई सम्बोधन गर्दै लेखेको यो कविता पनि निकै मार्मिक र यथार्थपरक छ:
न ता पाऊँ मन्जू न त क्यै बुझिन्छै बुझिँदैन,
कहाँसम्म फँस्नु कति दिन हो क्यै खुल्न सक्तैन।
विन्ती बिसाउने कोही छैन यो सहरमा मेरो,
बक्सियोस् झोली फिँजाई बिन्ती गर्छु हजुरमा मेरो।
पाँच महीना दिन भइसक्यो बन्दीमा म परेको,
जामिन कोही नहुँदा दुःख मैले यो पाएको।
कि त छिट्टै निसाफ पाऊँ कि त छिट्टै मर्न पाऊँ,
यो दुःख भोग्नुभन्दा त मरिगए निको हुन्थ्यो क्यारे।