रवि लामिछाने भन्छन्ः रास्वपा शंकास्पद पार्किङ प्रकरणमा कारबाहीको पक्षमा अडिग छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
344
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शंकास्पद सवारी पार्किङ प्रकरणमा दोषी जोसुकै भए पनि कानूनअनुसार कार्बाही हुने बताएका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीले शुरूदेखि नै उक्त घटनालाई गलत ठहर गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कार्बाहीको माग गरेको बताए।
उनले पार्टीले विज्ञप्तिमार्फत घटना गलत भएको स्पष्ट गर्दै छानबिन र कार्बाहीको पक्षमा आफ्नो अडान सार्वजनिक गरिसकेको उल्लेख गरे।
रास्वपाका नेता-कार्यकर्ता संलग्न भए पनि कार्बाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा लामिछानेले "किन हुँदैन? जो भए पनि कारबाही हुन्छ। रास्वपाका नेता-कार्यकर्ता भए पनि छुट हुँदैन। रास्वपा आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको पार्टी हो," भने।
रास्वपाका मन्त्रीको सवारीमा कालो सिसा रहेको विषयमा उनले कानुन कार्यान्वयन गर्ने निकायसँग आवश्यक अधिकार रहेको भन्दै कानून सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताए।
प्रधानमन्त्री बालेन साहसँग भएको चार घण्टे भेटबारे लामिछानेले सुकुमवासी समस्या समाधान, समसामयिक राष्ट्रिय राजनीति र मुलुकको भावी राजनीतिक अवस्थालगायत विषयमा विस्तृत तथा परिणाममुखी छलफल भएको जानकारी दिए।
उनका अनुसार भेटवार्तामा सुकुमवासी व्यवस्थापन गर्दा आम नागरिकले दुःख नपाउने गरी समाधान खोज्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।