राधिकाको जीवन बचाउन केएमसीले खेलेको भूमिका र सुनील शर्माले देखाएको सदाशय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
590
Shares
काठमाडौँ । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना निकै पीडादायी बन्दै गइरहेका थिए । श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो हेर्दाहेर्दै ठूलो ट्युमरमा परिणत भयो ।
छ महिनाको अवधिमा ट्युमर यसरी बढ्दै गयो कि टाउकोभन्दा पनि ठूलो भयो । तत्काल उपचार आवश्यक थियो, तर कमजोर आर्थिक अवस्थाका कारण सुरेशका लागि अस्पताल पुगेर उपचार शुरू गराउने बाटो सहज थिएन ।
सुरेशले हार मानेनन् । विभिन्न माध्यमबाट सहयोग जुटाउँदै पत्नीको पटक-पटक एमआरआई गराए । रोगको अवस्था थाहा भयो, तर उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा पीडा झन् बढ्दै गयो, अस्पताल भर्ना गराउन सकेका थिएनन् ।
त्यही क्रममा जेन-जी आन्दोलनकी साहसी उद्धारकर्ता किशोरी कार्कीले सुरेशले सामाजिक सञ्जालमा सहयोग मागेको थाहा पाइन् र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन्।
जेन-जी आन्दोलनका क्रममा शर्माले मानवीय पक्षलाई पहिलो प्राथमिकतामा राख्दै सयौँ जेन-जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र कुरुवाको खाने बस्नेसमेत व्यवस्था मिलाइदिएको विषयमा उनी जानकार थिइन् ।
कार्कीले पठाएको राधिकाको भिडियो हेरेपछि सुनील शर्माले ढिला नगरी उपचारको जिम्मेवारी लिने निर्णय गरे । कुनै लामो प्रक्रिया र पर्खाइबिना उनले राधिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइदिने भए ।
त्यसको केही समय नबित्दै काठमाडौँ मेडिकल कलेजको एम्बुलेन्स साइरन बजाउँदै राधिकालाई लिन उनीहरूकै पायक पर्ने स्थानमा पुग्यो । सुरेश, राधिका र उनीहरूको भर्खर टुकुटुकु हिँड्न सिक्दै गरेको सानो सन्तान उपचारको आशा बोकेर केएमसी प्रवेश गरे र खबर पुगेको केही घण्टामै राधिका काठमाडौं मेडिकल कलेज दुवाकोट युनिटको आकस्मिक कक्षमा पुगिन् ।
अस्पताल पुग्नुअघि नै उनको उपचारका लागि चिकित्सक टोली तयार भइसकेको थियो । आफ्नी पत्नीको उपचार हुने सुनिश्चित भएपछि सुरेशको मन केही हल्का भयो ।
अस्पतालको बेडमा राधिकालाई सुताउँदै उनले भावुक हुँदै भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ।’ राधिकालाई अस्पतालसम्म पुर्याउने पहल गरेकी किशोरी कार्कीप्रति सुरेशको परिवार आभारी छ ।
उपचार शुरू भएपछि सुरेशले सुनील शर्माप्रति खुलेर धन्यवाद व्यक्त गरे। आफ्नो आग्रह स्वीकार गर्दै राधिकाको उपचार निःशुल्क गराउने व्यवस्था मिलाएकोमा किशोरी कार्कीले पनि हृदयदेखि आभार व्यक्त गरिन् ।
अब सबैको एउटै प्रार्थना छ, राधिका पूर्ण रूपमा स्वस्थ्य भएर सन्तानलाई आफ्नो काखमा खेलाउँदै, हाँस्दै खेल्दै घर फर्किएको हेर्ने। यसका लागि सबैभन्दा ठूलो धन्यवादका पात्र बन्नेछन् काठमाडौँ मेडिकल कलेजको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, जेन-जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्की र सबैभन्दा माथि, सधैं मानवीयताको पक्षमा उभिँदै सहयोगको हात बढाउने अस्पतालका सञ्चालक सुनील शर्मा ।