काठमाडौँ । ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको आफ्नै स्वामित्वमा एक टुक्रा जमिन हुने लामो समयदेखिको सपना साकार भएको छ। आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा वर्षौँदेखि सरकारले उठिबास लगाउने चिन्तामा रहेका जहरमान बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्दा भावुक बने। जहरमानसँगै अर्जुनधारा–११ लक्ष्मीधापकी सपना सिवा दर्जी र उमादेवी तामाङलगायत १७ जना अव्यवस्थित बसोबासीले जिल्ला भूमि समस्या समाधान समिति झापाबाट लालपुर्जा प्राप्त गरेकी छन्।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले यो केवल कागजको टुक्रा मात्र नभई पुस्तौँदेखि भोगिएको असुरक्षाको अन्त्य भएको बताइन्। प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले पुर्जा हस्तान्तरण गर्दै जोखिमयुक्त बस्तीबाहेक कसैलाई पनि विस्थापित नगर्ने सरकारको नीति रहेको स्पष्ट पारिन्।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार वडा नं ११ मा यसअघि नै १४४ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन्।पालिकाले ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र ६,३५९ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ। अभियानलाई छिटो निष्कर्षमा पुर्याउन प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू सार्वजनिक बिदाका दिनसमेत परिचालन गरिएको नगरप्रमुख तामाङले जानकारी दिए।
जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वास्तविक लाभग्राहीलाई मात्रै पुर्जा वितरण गर्न प्रशासन सजग रहेको बताएका छन्। नापी कार्यालयका प्रमुख तथा समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा पुर्जा वितरणको प्रक्रिया प्रारम्भ भइसकेको छ र यसैक्रममा आज मेचीनगरका पाँच जना अव्यवस्थित बसोबासीलाई समेत जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रदान गरिएको छ।