arrow

कोषराज वन्तसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वन्तले ६ करोड ७९ लाख ४१ हजार भ्रष्टाचार गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७२ माघ १८ सोमबार
onta-@.jpg.jpeg

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार विज्ञप्ती जारी गरी सशस्त्र प्रहरी बल हलचोकको सामान ढुवानी प्रकरणबारे भएको अनुसन्धानमा सामानै ढुवानी नगरी सशस्त्र प्रहरी महानिरीक्षक वन्तको निर्देशनमा लेखा प्रमुख शसस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापाले सदाज्योती तथा अदिती ट्रान्सपोर्टका संचालकहरुसंगको मिलेमतोमा खालि एवं विभिन्न युनिटहरूमा सामान पठाएको भन्ने व्यहोराको झुठ्ठा रहेको जनाएको छ । 

झुठो विवरण उल्लेख गरेका बिल झिकाई सशस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापाले लेखा शाखामै कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षकहरू निल बहादुर श्रेष्ठ, देवेन्द्र कुमार श्रेष्ठ, लेख बहादुर खत्री र सशस्त्र प्रहरी जवान मिलन अधिकारी समेतलाई प्रयोग गरी भण्डार शाखाले भुक्तानीको लागि बिल पठाएको विज्ञप्तीमा उल्लेख छ । यस्तै, सो पत्र लेखा शाखामै तयार गरी भण्डार शाखाका शाखा अधिकारी समेतको फर्जी हस्ताक्षर सशस्त्र प्रहरी जवान अधिकारीलाई गर्न लगाई ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैंया भ्रष्टाचार गरेको विज्ञप्तीमा भनिएको छ । 

भण्डार शाखाको चलानी किताब, जिन्सी आम्दानी खर्च किताब, मातहत युनिटहरूबाट सामान प्राप्त नभएको व्यहोराको पत्र, वैज्ञानिक परीक्षण प्रतिवेदन, ट्रान्सपोर्ट कम्पनीहरूका संचालकहरूको बयान कागज, नक्कली बिल तथा पत्र तयार गर्ने सम्बद्ध कर्मचारीहरूको बयानबाट पुष्टी भएको अख्तियारले जिकिर गरेको छ ।  

ढुवानी प्रकरणका सम्बन्धमा प्रारम्भिक अनुसन्धानको क्रममा छानबिन गरी राय सहितको प्रतिक्रिया उपलब्ध गराउन भनि आयोगबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक स्वयम्भुलाई लेखि पठाएकामा सो सम्बन्धमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक अरबिन्द धितालको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

सो समितिले संगठन प्रमुख वन्तले गरेका भ्रष्टाचार जन्य कसुरलाई उन्मुक्ती दिने मनसायले बदनियतपूर्ण कुरालाई लुकाएको र नभएका झुठो व्यहोरा उल्लेख गरी आयोगलाई गलत प्रतिवेदन दिएको विज्ञप्तीमा उल्लेख छ । भ्रष्टाचार प्रकरणमा संलग्न ट्रान्सपोर्टका संचालकहरु समेतलाई मागदाबि सहित विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अख्तियारको फन्दामा परेका वन्तलाई पौष २ गते विहिबार निलम्बन गर्न सिफारिस गरेको थियो । सरकारले निलम्बन गर्नु अघि वन्त राजीनामा बोकेर गृहमन्त्रालय पुगेका थिए । त्यसको केही दिनमा बयानका लागि अख्तियार पुगका वन्त १० मिनेटमै १० लाख धरौटी बुझाएर थुना पर्नबाट जोगिएका थिए । 

के गरेका थिए वन्तले ? 
आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा विभिन्न समयमा मुलुकभर रहेका सशस्त्र प्रहरीको विभिन्न युनिटमा सामान ढुवानी गर्दा महानिरीक्षक वन्तको प्रत्यक्ष संलग्नता देखिएको थियो । सामान ढुवानी प्रक्रियामा अनियमितता भएको भन्दै आयोगमा परेको उजुरीमाथि अनुसन्धान गरिँदा महानिरीक्षक वन्त र अन्य अधिकारीको संलग्नता देखिएको अख्तियारको जिकिर छ । 

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त विरुद्ध २०७१ साल असारमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक वन्तले अवैध तरिकाले आर्जन गरेको सम्पत्ति अष्ट्रेलियामा रहेकी भाउजूलाई हुण्डी गरेर पठाउने गरेको र उताबाट भाउजूले बैंकमार्फत सो पैसा नेपाल पठाई कालो धनलाई सेतो बनाउने गरेको आरोपसहितको उजुरी अख्तियारमा दर्ता भएको थियो । वन्तको उजुरी प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफैं हेरिरहेको बुझिएको बताइएको थियो । त्यसरी आएको रकम वन्तले ललितपुरको इमाडोल–७, ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा लगानी गरेको बताइएको छ । 

तर त्यसयता अकुत सम्पत्ति कमाएको आरोपमा वन्तको सम्पूर्ण खाताहरु रोक्का राखि अख्तियारले छानबिन थालेकोमा उनको अनुसन्धान मुल्तबीमा राखिएको थियो । वन्तको करोडौं सम्पत्ति देखिएको भन्दै आयोगले प्राथमिकतामा राखेर उनीमाथि छानबिन थालेको थियो। प्रहरीमा प्राविधिक पृष्ठभूमी भएका वन्त एक पटक पनि शान्ति मिसन गएका छैनन् । 

तलब बाहेक उनको प्रहरी सेवामा कुनै बैधानिक कमाई नभएपनि सम्पत्ति करोडौंको देखिएपछि आयोगले छानबिन थालेको थियो । आयोगमा लोकमानसिंह कार्की नियुक्त भएलगत्तै उनले अकुत सम्पत्ति छानबिनमा सार्वजनिक गरेको लिष्टमा वन्तको अग्रस्थानमा थियो । वन्तले आफ्नो सम्पत्तिको स्रोत देखाउन नसकेपनि उनको अनुसन्धान मुल्तबीमा राखिएको हो। मुलतवीमा राखिएपछि यो प्रकरणलाई वन्तले अख्तियारलाई सेटिङ मिलाएको अर्थमा बुझिएको छ । 

फौजी संगठनमा प्राविधिक व्यक्ति प्रशासनमा जान पाउदैन । तर वन्तले नेताहरुलाई प्रभावित बनाई एसएसपीबाट प्रशासनतर्फको डीआईजी भएका थिए । एसएसपीको रुपमा उनले उनले सशस्त्र मुख्यालय तथा प्रहरी हस्पिटलको निर्माणमा करोडौं कमाएको आरोप उनीमाथि लागेको छ । ठेकेदार शकुन्तलाल हिराचनसग मिलेर उनले ती भवनहरु बनाउन मोटो कमिसन हात पारेका आरोप छ । वन्तको शेयर रहेको मोदी हाइड्रोमा उनै ठेकदार हिराचन अध्यक्ष छन् । कसिमनबापतकै पैसा शेयरमा बदलेको स्रोत भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ