‘म्याच फिक्सिङ’ मा संलग्न खेलाडीलाई विशेष अदालत लगियो
काठमाडौँ। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका चार फुटबल खेलाडी र एक प्रशिक्षकलाई म्याद थपका लागि आज काठमाडौँको विशेष अदालतमा उपस्थित गराइएको छ ।
दसैंमा अदालत बन्द भएका कारण उनीहरुविरुद्ध प्रहरीमै मुद्दा दायर गरिएको हो । राज्य विरुद्धको अपराधमा उनीहरुविरुद्ध मुद्दा चलाइएको र यो मुद्दा विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई अदालतमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
म्याच फिक्सिङको आरोपमा अपराध महाशाखाले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई गत असोज महिनामा पक्राउ गरेको थियो ।
उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप छ ।
‘होम एन्ड अवे’को आधारमा सन् २०११ मा भएको विश्वकप छनोटमा नेपालले जोर्डनसँगको अवे गेममा ९–० को लज्जास्पद हार व्यहोरेको थियो । तर घरेलु मैदान (काठमाडौँ) मा भएको खेलमा भने नेपालले जोर्डनसँग १–१ गोलको बराबरी नतिजा निकालेको थियो ।
यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायतका १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप छ । एक वर्षअघि दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा समूह चरणका सबै खेलमा लज्जास्पद हार खेपेको नेपाललाई त्यतिबेलै खेल मिलेमतो गरेको आरोप लागेको थियो ।
दोहामा एक वर्षअघि फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा समेत नेपाल पराजित भएको थियो । एसियाडमा खेल मिलेमतो भएको विषयमा संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो ।
ती खेलाडीले सन् २००८ देखि सन् २०१४ को बीचसम्म भएका अधिकांश अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आशातीत प्रदर्शन गर्न सकेका छैनन् ।
प्रहरीले कप्तान थापालाई थापाथली, गोलकिपर थापा र राईलाई बालुवाटार तथा क्षेत्री र केसीलाई जावलाखेलबाट पक्राउ गरेको थियो । रासस