काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताबाट गठित नेकपा कम्युनिष्ट पार्टी नेकपाको नौ जनाको सचिवालय बढ्ने भएको छ। नौ सदस्यीय सचिवालय बन्ने टुंगो भएको एक हप्ता नबित्दै फेरि सचिवालय बढाउनु पर्ने भएको हो।
आकांक्षी धेरै हुनुका साथै सचिवालय समावेशी हुन नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका जेट प्लेनका दुई पाइलटहरु (अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) ले दवाव थेग्न नसकेपछि सचिवालय सदस्य थप्न राजी भएको उच्च स्रोतले बताएको छ।
को को थपिँदै छन् त ?
सचिवालयलाई समावेशी बनाउन महिलाबाट विघटित एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र विघटित माओवादी केन्द्रबाट पूर्व सभामुख ओनसरी घर्तीलाई ल्याउन लागिएको हो। त्यसैगरी उचित स्थान नपाए विद्रोह गर्ने भन्दै आएका एमालेका पूर्व उपाध्यक्ष भीम रावल पनि सचिवालयमा अट्ने भएका छन्।
त्यसैगरी एमालेबाट उपाध्यक्षहरु सबै समेट्ने क्रममा युवराज ज्ञवालीसमेत पर्दै गरेको स्रोतले बताएको छ। त्यसैगरी समावेशीका लागि माओवादी केन्द्रबाट मधेशी कोटाको रुपमा मातृका यादव र जनजातिबाट वर्षमान पुन अनन्तलाई ल्याउन लागिएको छ।
सचिवालयमा थपिने ६ जनामा ३ जना एमाले र तीन जना माओवादीका नेताहरु हुने स्रोतको दाबी छ। पूर्व सभामुख सुवास नेम्वाङसमेत पर्न सक्ने आँकलन गरिए पनि नेम्वाङ यो चर्चाबाट टाढिदै गएका हुन् कि भन्ने पनि परेको छ। त्यसैगरी माओवादीबाट जनार्दन शर्माले आफूलाई पदको लोभ नभएको बताउँदै आए पनि ठूला बैठकमा संगसंगै बस्न खोज्ने भएकाले सचिवालय प्रवेशका लागि मेहनत गरिरहेको बताइन्छ ।