arrow

राष्ट्रको नेतृत्वमा व्यवसायिक पृष्ठभूमिका नेताहरुको यस्तो छ इतिहास

नेपालमा विनोद चौधरीहरु बन्लान विकल्प?

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
binod-chaudhary.jpg

काठमाडौं। विश्व राजनीतिको पछिल्ला दिनमा केवल राजनीति मात्रै नभएर आर्थिक विषय समेत जोडिएको अर्थराजनीतिलाई महत्व दिन थालेको छ। २० औं शताब्दीसम्म एक अर्काबीच चल्ने हानाथाप र साना ठूला युद्धलाई विस्तारै विर्सिएर विश्वका प्रभावशाली मुलुकहरु विज्ञान र प्रविधि मार्फत् थप शक्तिशाली बन्ने प्रयासमा लाग्न थालिरहेका छन्। 

राजनीतिक आस्थाको भन्दा पनि व्यापार र व्यवसायको आधारको भूराजनीतिक सम्बन्धहरु दीगो र प्रभावकारी हुन थालिसकेका छन् । विश्व राजनीतिमा द्विदेशीय व्यापारले कुटनीतिलाई समेत प्रभाव पार्न थालेपछि व्यवसायिक नेतृत्वकर्ताहरुको चर्चा पनि अन्तराष्ट्रिय राजनीतिमा हुन थालेको छ। पछिल्लो समय व्यवसायिक क्षेत्रका मानिसहरुले देशकै राजनीतिक नेतृत्व समेत लिन थालेबाट अब व्यवसायिक नेतृत्व पनि वैकल्पिक राजनीतिक नेतृत्वका रुपमा तयार देखिएको हो। कतिपय ठाउँमा व्यवसायिक नेतृत्व वैकल्पिक नेतृत्वका रुपमा मात्र नभइ मूलधारकै नेतृत्वको रुपमा समेत खडा हुन थालेको छ। 

राजनीतिक रुपमा भिन्न आदर्श मान्ने भारत र चीन व्यापारको मामलामा अहिले एउटै लाइनमा खडा हुन थालेका छन् । यसबाहेक भूराजनीतिमा देखिने धेरै विवाद तथा असमझदारीहरु सबै आर्थिक विषयबस्तुलाई लिएर नै हुने गरेका छन् । २० औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आईपुग्दा अमेरिका लगायतका देशहरुले पटक पटक उद्यमी व्यवसायीलाई देशको राजनीतिक नेतृत्व गर्ने जिम्मा दिएको घटनाले पनि पछिल्लो समय विश्वले आर्थिक विषयबस्तुलाई बढी महत्व दिएको देखिन्छ। 

वारेन जी हार्डिङ अमेरिकाका २९ औं राष्ट्रपति हुन् । सन् १९२१ देखि १९२३ मा अमेरिकाको राष्ट्रपति बनेका हार्डिङ सहित अहिलेसम्म दुईजना राष्ट्रपतिहरु व्यवसायिक क्षेत्रबाट आएका छन्। अमेरिकाका ४४ औं तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि लामो व्यवसायिक अनुभव भएका  एक सफल व्यवसायी हुन् । उनको विभिद क्षेत्रमा व्यापार व्यवसाय रहेको छ। रियल स्टेट, होटल, क्यासिनो जस्ता क्षेत्रमा ट्रम्पको लगानी रहेको छ।

त्यसैगरी अमेरिकामा व्यवसायिक क्षेत्रबाट राजनीतिमा सफल भएका अर्का व्यक्ति क्यालिफोर्नियाका पूर्व गभर्नर आर्नोल्ड पनि हुन। पूर्व गभर्नर आर्नोल्ड एक विशिष्ट व्यवसायी, राजनीतिज्ञ र सामाजिक अभियन्ता थिए। उनी पेशाका हिसाबले गभर्नर बन्नु भन्दा पूर्व खेल तथा कलाका साथै  सामाजिक जीवनमा सक्रिय थिए। जसका कारण उनी राजनीतिमा स्वभाविक रुपमा आकर्षित भए। पछि उनी अमेरिकाको गभर्नर नै बने। 

त्यस्तै लेबनानका पूर्व प्रधानमन्त्री राफिक अल हरिर पनि व्यवसाय मार्फत् राजनीतिमा छिरेर प्रधानमन्त्री बनेका व्यक्ति हुन्। प्रधानमन्त्री बन्नुपूर्व उनी साउदी ओगर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत थिए। यस बाहेक पनि साउदी अरबमा ठूला कन्स्ट्रक्सन कम्पनीको समेत मालिक हरिर फोर्ब्सको अरबपतिको सूचीमा समेत परिसकेका व्यक्ति हुन्। हरिरको २००५ मा हत्या हुनु सम्म पनि उनी व्यवसायका अतिरिक्त राजनीतिमा पनि त्यतिकै सक्रिय थिए। 

इटालिका व्यवसायी एवं पूर्व प्रधानमन्त्री समेत रहेका सिल्भियो बेर्लुस्कोनी पनि व्यवसायद्वारा राजनीतिमा आएर सफल भएका व्यक्ति हुन्। उनी तीन पटकसम्म इटालीका प्रधानमन्त्री भए। राजनीतिमा आउनुपूर्व उनी रियल स्टेट र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गर्ने व्यवसायी थिए। नेपालमा पनि राजनीतिमा लगन सहित लागेका व्यवसायीहरुलाई हेरेर नेपाली राजनीतिले उद्यमी व्यवसायीक पृष्ठभुमीको व्यक्तिलाई हेरेर देशको राजनीतिक नेतृत्वमा उद्यमी व्यवसायीक जगतको मानिस आउनुपर्ने चर्चा पनि हुन थालेको छ। 

यसै पृष्ठमूमीमा व्यवसायीक पृष्ठमुमीका व्यक्तिहरुले राज्य सञ्चालन गर्ने सम्भावना कत्तिको छ भन्ने सवाल समेत उठ्न सुरु भएको छ। दुई तिहाईको कम्युनिष्ट सरकारले समेत व्यवस्थापकीय क्षमता देखाउन नसक्दा जनअपेक्षा अनुसार काम गर्ने सकेको छैन। आर्थिक विकासमा समेत सरकारको ध्यान पुग्न सकेको छैन। यसको विकल्पमा आम मानिसले व्यवसायीक अनुभव भएकाहरुलाई नै खोज्ने अवस्था सिर्जना हुँदैछ। नेपालमा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरु पटकपटक मन्त्री त बनिरहेका छन्। तर, राजनीतिमा रहेका व्यवसायीक घरानाका केहि सांसद प्रधानमन्त्रीकै दावेदार हुनसक्ने आँकलन समेत हुन थालेको छ। अन्तराष्ट्रिय अनुभवलाई दृष्टान्त दिने कतिपय व्यक्तिहरु नेपालमा पनि व्यवसायिक घरानाबाट प्रधानमन्त्री नै बन्न समेत सम्भव रहेको बताउने गरेका छन्। संसदमा केही व्यवसायिक अनुहारहरु पनि देखिन्छ जो भविष्यमा प्रधानमन्त्रीको दाबेदार समेत बन्न सक्छन्। अहिले संसदमा रहेका चर्चित व्यवसायीहरु मध्ये पनि केही सांसदहरु प्रधानमन्त्री नै बन्दा पनि पार लगाउन सक्ने पात्रको रुपमा देखिन्छन।

फोर्ब्सले समेटेका नेपालका एकमात्र अर्बपति विनोद कुमार चौधरी अहिले नेपाली काँग्रेसबाट संघीय संसदमा सांसद छन्। उनी काँग्रेसको मनोनित महासमिति सदस्य समेत छन्। ०६२/६३को जनआन्दोलनपछि एमाले प्रवेश गरेर सांसद बनेका उनी अहिले समानुपातिक निर्वाचन प्रणाली मार्फत् कांग्रेस कोटाबाट संसदमा छन्। नेपाल, भारत हुँदै एशियाका विभिन्न मुलुक अफ्रिका, यूरोप र अमेरिकामा समेत आफ्नो व्यापार विस्तार गरेका चौधरीको व्यवसायसँगै पछिल्लो समय राजनीतिमा देखिएको सक्रियताले उनी देशको मूल नेतृत्वमा पुगेको अवस्थामा समेत सो भूमिकालाई स्वभाविक रुपमा निर्वाह गर्न सक्ने हैसियत राख्ने उनलाई जान्नेहरु बताउँछन्। 

ठूला व्यवसायिक घराना मध्य गोल्छा अर्गनाइजेशनका दिवाकर गोल्छा र खेतान समुहका राजेन्द्र खेतान संविधानसभामा पुगेका थिए। संविधानसभामा रहेर संविधान निर्माणमा आफ्नो भागको भूमिका खेल्ने बाहेक त्यसयता यि घरानाबाट राजनीतिमा सक्रिय सहभागिता रहेको छैन। यद्यपी राजनीतिमा चासो राख्ने र आफ्ना मन खाएकालाई सहयोग गर्नेसम्को भूमिकाबाट भने यो घराना पनि विमुख चाहि छैन। संविधानसभामा रहँदा यूवा तथा उद्यमीहरु अलग अलग समुह बनाएर काम गरेका खेतान राजनीतिमा प्रत्यक्ष सहभागि नहुँदा पनि यो काममा भने सक्रिय नै छन्। मोतीलाल दुगड प्रतिनिधि सभाका समानुपातिक सदस्य हुन् उनी परिस्थिति मिलेसम्म मन्त्रीसम्म बन्ने सोचाइ राखेरै राजनीतिमा लागिरहेका छन्। अर्का सांसद एवं लामा कन्स्ट्रक्सनका जीपछिरिङ लामा पनि काँग्रेसका समानुपातिक सांसद हुन् । उनीसँगै उद्यमी तथा राजनीतिज्ञ अनिल रुङगटा, शिक्षा उद्यमी उमेश श्रेष्ठ, उद्यमी व्यवसायी दिब्यमणि राजभण्डारी, सूर्यबहादुर केसी र कर्मा घले पनि काँग्रेसबाट सांसद बनेका छन् । यी सबै उम्मेदवारहरु पनि सरकारमा मन्त्री बन्ने सम्भावना बोकेका सांसदहरु हुन्। 

राजनीतिसँगै अर्थ प्रत्यक्ष जोडिएर आएका कारण अहिले अर्थराजनीतिको बहश हुन थालेको छ। यो अवस्थामा अर्थमा राम्रो पकड जमाएकाहरुले राजनीति चासोलाई बढाउँदै लगाव राख्न थाले भने उनीहरुको राजनीतिमा प्रभाव नबढ्ला भन्न सकिन्न। आर्थिक अवस्था बलियो भएकाहरुले जनसम्पर्कलाई स्थापित गर्दै प्रत्यक्ष चुनावमा समेत पकड जमाएबाट यो तथ्यलाई नजरअन्दाज गर्न गाह्रो छ।

जहिले पनि तरल भइरहने नेपालको राजनीतिको लामो भविष्यवाणै गर्नु राजनीतिक पण्डितहरुको पनि बशको बिषय होइन। तर यस्तै संक्रमणमा कतिपय नयाँ चेहरा राजनीतिमा अचानक स्थापित हुने सम्भावना पनि त्यतिकै रहन्छ। संविधान अनुसार आवधिक निर्वाचन आउन अझै लामै समय रहेको अवस्थामा माथि उल्लेखित व्यवसायकि घराना मध्ये राजनीतिमा सबैभन्दा चासो राखेको घरानाका प्रतिनिधी विनोद कुमार चौधरीको राजनीतिक भविष्यवाणी गर्नु हतार हुनसक्छ तर राजनीतिमा उनको लगाव लामो दौडको घोडा बन्ने खालको देखिन्छ। काठमाडौं केन्द्रीत आफ्नो व्यवसायलाई वैश्विक बनाए झैं संक्रमणमा अल्झिरहेको नेपाली राजनीतिलाई अवसर आउँदा डोहोर्याउने क्षमता उनले कत्तिको राख्छन त्यो भने हेर्न बाँकी छ। यसमा उनको राजनीतिक जीवनको सफलता समेत झल्किन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ