arrow

अख्तियारले कागजपत्र लगेर बीचमै अलपत्र छाड्यो, साधारण सभा अन्यौलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ २० शुक्रबार
CIAA_20120418084007.jpg.jpeg

विराटनगर । मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले लगेको छ ।

सामूदायिक वनमा लाखौं रुपैयाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले  भदौ १५ गते आइतबार वनका आम्दानी र खर्च सम्बन्धी सम्पूर्ण कागजात लगेको हो । 

सबडिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवसँगै आएको अख्तियारको टोलीले  समूहको कार्यालयबाट कागजात लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 

पदावधि सकिएको एक वर्ष बित्नै लाग्दा पनि हालको सञ्चालक समितिले चुनावी साधारणसभा गर्न सकेको छैन । आर्थिक पारदर्शिता नभएको ,सुशासनमा कमजोरी भएको भन्दै बेला–बेला आलोचित हुँदै आएको वर्तमान समितिले गत बैशाखमा डिभिजन वन कार्यालय मोरङसँग यही भदौ २५ गते सम्ममा साधारण सभा गर्ने प्रतिवद्धता गरेको थियो । 

दुई वर्षअघि वनले वैज्ञानिक वन र लडापडा सुखा खडा गरी झण्डै साढे ३३ हजार किवी लकडी वनबाट आपुर्ति गरेको थियो । तर, वनबाट लकडी निकालेर घाटगद्दी गरे पनि सामूदायिक वनको आर्थिक पारदर्शितामा समस्या आएको भन्दै डिभिजन वन कार्यालय मोरङले बिक्री आदेश दिएको थिएन । 

स्थानीय उपभोक्ता र सामूदायिक वन महासंघ मोरङ र प्रदेश समितिले चर्को दवाव दिएपछि  डिभिजन वन कार्यालय मोरङले ससर्त ११ हजार ४४४ दशमलव ६३ किवी लकडी बिक्री गर्ने आदेश दिएको थियो ।

ग्रामीण सुधार सामूदायिक वनलाई नजिकबाट हेरिरहेका एक जना उपभोक्ताले भने –‘ डिभिजन वन कार्यालयसँग भदौ २५ गते भित्र साधारण सभा गर्ने, तोकिए भन्दा बढी लकडी बिक्री नगर्ने, बाँकी लकडी साधारण सभापछि निर्वाचित समितिले गर्ने औपचारिक सहमति भएको थियो । 

तर, सञ्चालक समितिका पदाधिकारीहरूले सहमति भन्दा २ हजार किवी बढी लकडी बिक्री गरेको बुझिएको छ । समाचार स्रोतका अनुसार १३ हजार किवी लकडी बिक्री गरिसक्दा पनि वनलाई अझै ७० लाख रुपैयाँ ऋण छ । 

सामान्य कामदेखि प्रशासनिक काममा समेत ठूलो धनराशी खर्च गर्दै आएको सामूदायिक वनले कानेपोखरीका  होटललाई मात्र झण्डै ८ लाख रुपैयाँ तिर्न बाँकी छ । समाचार स्रोत भन्छ–यो रकम सबै भोज,पार्टी र मदिरापानको मात्रै हो । 

पछिल्लो समय सामूदायिक वनले २५ गते हुने साधारण सभाले सबै सम्मत नेतृत्व चयन गर्न सर्वदलीय छलफल समेत डाकेको थियो । 

तर, बैठक दुई पटकसम्म बसे पनि कुनै निर्णय नगरी सकिएको थियो । वनको नेतृत्व हत्याउन नेकपा र नेपाली काङ्ग्रेस आ–आफ्नो ढंगबाट लविङ गरिरहेका बेला अख्तियारले कागज पत्र लगेपछि साधारण सभा अन्यौलमा परेको छ । 

अख्तियारले कागज पत्र सबडिभिजन कार्यालय मै छोड्यो 
यता अख्तियारले सामूदायिक वनबाट लगेका कागजात कानेपाखरीस्थित सबडिभिजन कार्यालय मै छोडेर गएको बुझिएको छ ।

समाचार स्रोत भन्छ–‘तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु’भन्ने उखान चरितार्थ भएको छ । लाखौंको लकडी बिक्री गर्दा समेत सामूदायिक वनले सबडिभिजन कार्यालय कानेपोखरीको माग पुरा गर्न नसकेपछि कानेपोखरी कार्यलयको सेटिङ अख्तियार आएको जानकारहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ