arrow

सरकारमा जान हच्किए राजेन्द्र महतो र राजकिशोर

logo
राजु रिमाल,
प्रकाशित २०७६ फागुन १० शनिबार
rajendra-rajkishor-rjp.jpg

काठमाडौं। सरकारमा जाने लाइन लिएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा सरकारमा जान हच्किएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले राजपासँग उपसभामुख पद लिए प्रदेश २ सरकार फेर्नु पर्ने शर्त राखेका छन्। नेकपाको शर्त माने राजपालाई संघीय सरकारमा जाने बाटो खुला हुनेछ।

राजपाभित्र अहिले सरकारमा जाने कि समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने भन्ने विषयमा दुइ धार देखिएको छ। महन्थ ठाकुर र महेन्द्र यादव सुरु देखि नै सरकारलाई प्राथमिकता नदिइ समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिनु पर्छ भन्ने अडानमा छन्। तर महतो, भण्डारी, झा र यादव भने समाजवादीसँगको एकीकरणलाई भन्दा सरकारमा जाने लाइनमा उभिएका छन्। 

राजपा स्रोत भन्छ, सरकारमा जाने लाइन लिएका नेताहरु पनि पछिल्लो समय सरकारमा जाने लाइनबाट पछि ह्टन थालेका छन्। जसबाट समाजवादीसँग पार्टी एकीकरण प्रक्रिया अघि बढ्ने सम्भावना छ।  स्रोत भन्छ, यथास्थितिमा सरकारमा नजान पार्टीभित्रबाट दबाब बढ्दै गएको छ। ओली सरकारमा गए मधेसमा राजपाको आधार सकिने सुझाव कार्यकर्ताहरुको छ। जसबाट सरकारमा जाने लाइन लिएका नेताहरु पनि पछि हट्न थालेका छन्।

‘यथास्थितिमा हामी सरकारमा जान्नौं। संविधान संशोधन र रेशम चौधरीको रिहा भए पछि मात्र सरकारमा जाने बाटो खुला हुन्छ,’राजपाका नेता शरत्तसिंह भण्डारीले भने,‘समाजवादीसँग पार्टी एकीकरण गर्ने हाम्रो निर्णय यथावथ  छ।’

समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिएका महेन्द्रले केही दिन अघि समाजावदीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवसँग अनौचापरिक वार्ता गरेका थिए। सरकारबाट बाहिरिए पछि समाजवादी राजपासँग एकीकरण गर्न आतुर देखिएको छ। केही दिन अघि राजपाका नेता ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। उक्त भेटमा ओलीले उपसभामुख पद लिए प्याकेजमा सहमति गर्न ठाकुरलाई प्रस्ताव गरेका थिए।

राजपाका एक नेताले भने, ‘प्याकेजमा सहमति गरौ भनेको संघीय सरकारमा राजपालाई ल्याउनु हो।’ ओलीलाई भेटेको भोलीपल्ट ठाकुर बारा मधेस पुगेका थिए।  त्यसपछि उनी सर्लाही गएका थिए। त्यहाँ पनि उनलाई तत्काल सरकारमा नजान कार्यकर्ताहरुले सुझाव दिएका थिए। स्रोत भन्छन, उपसभामुखको बारेमा नेकपा र राजपाबीच सहमति नभएको कारण उपसभामुखको चुनावको तिथि तय भएको छैन। राजपाका एक पदाधिकारी भन्छन,‘हामी संघीय सरकार र प्रदेश दुइ सरकारको विषय छाडेर उपसभामुख पद लिन चाहन्छौ तर उहाँहरु (नेकपाका नेताहरु) भने उपसभामुख, संघीय सरकार र प्रदेश २ सरकार फेर्ने विषयमा एकै पटक सहमति गरौ भन्नु हुन्छ।

जुन कुरा हामीलाई स्विकार गर्न गाह्रो भएको छ।’केही दिन अघि राजपाका ७ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरुले पार्टी नेतृत्वलाई ध्यानाकष्र्ण पत्र लेखि यही स्थितिमा सरकारमा नजान चेतावनी दिएका थिए। त्यसको केही दिन पछि राजपाका ३ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति निकाली अहिलेको अवस्थामा वर्तमान सरकारमा नजान नेतृत्वलाई दबाब दिएका थिए। उनीहरुले नेतृत्वलाई सरकारमा नजान आग्रह मात्र गरेनन्, समाजवादीसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन दबाब पनि दिएका छन्।

आगामि चैत ६ सम्म अध्यक्ष मण्डलको संयोजकमा महेन्द्र हुने छन। त्यसपछि राजपाको नेतृत्व फेरिने छ। चैत ६ देखि भण्डारी अध्यक्ष मण्डलका संयोजक हुने छन्। यादव निकट एक नेताका अनुसार आफनो नेतृत्वको बेला समाजवादीसँगको एकीकरणलाई उनलाई निष्कर्षमा पुर्‍याउन खोजेका छन्। केही दिन अघि एक सार्वजनिक कार्यक्रममा महेन्द्रले समाजवादीसँगको एकीकरणको विकल्प नै नभएको बताएका थिए। उनको यस भनाइप्रति झाले आपत्ति प्रकट गरेका थिए।

राष्ट्रिय सभाको निर्वाचन पछि नेकपा र राजपावीच सम्बन्ध सुधार भएको छ तर ठाकुर, महेन्द्र, विर्खेशचन्द्र लाल,सबेंन्द्रनाथ शुक्ल लागतयका नेताहरुले भने राष्ट्रिय सभामा नेकपासँग सहकार्य भएको विषय चुनावमा मात्र केन्द्रित भएको बताउदै राष्ट्रिय सभाको चुनाव पछि सहकार्यको मुद्दा स्वत अन्त्य भएको बताउदै आएका छन्। नेकपा भने समाजवादी सरकारबाट बाहिरिए पछि समाजवादीको ठाउँमा राजपालाई ल्याउन खोजेको छ। समाजादी सरकारबाट बाहिरिए पछि सरकारले दुइ तिहाइ गुमाएको छ। राजपा सरकारमा जाने भने हो सरकारले फेरि दुई तिहाइको समर्थन पाउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ