arrow

कांग्रेस सभापति देउवाको वडाबाट क्रियाशील सदस्यता वितरण शुरु

logo
राम धामी,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
dewba-wada.jpg

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले पार्टीका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशील सदस्यता वितरण कार्यको शुभारम्भ गरेको छ ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले सोमबार स्थानीय धौलीदेवी सार्कीलाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेर जिल्लाव्यापी रुपमा नयाँ क्रियाशील सदस्यता वितरण कार्यको शुभारम्भ गरेका हुन् । 

गन्यापधुरा गाँउपालिका–१ रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा क्रियाशील कार्यकर्ताहरुका साथै जिल्लास्तरीय नेताहरु सहभागी थिए । सो वडा नेपाली कांग्रेसका सभापति देउवाको वडा हो । 

जिल्लाभर क्रियाशील सदस्यता नविकरण गरिसकेको नेपाली कांग्रेस डडेल्धुराले गन्यापधुरा–१ का ८४ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेको नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिए । सो वडामा ८४ जना पुराना क्रियाशील सदस्यहरुको सदस्यता नविकरण भइसकेकोले पार्टीको नीति अनुसार थप ८४ जनालाई नयाँ क्रियाशील सदस्यता वितरण गरिएको गन्यापधुरा–१ का वडा सभापति पदमबहादुर महताले बताए । 

नयाँ क्रियाशील सदस्यता वितरण कार्य शुभारम्भ भइसकेकाले जिल्लाका सबै वडामा जिल्लास्तरीय नेताहरुको सहभागितामा नयाँ क्रियाशील सदस्यता वितरण गरिने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । 

नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा जिल्लास्तरीय नेताहरुबीच कुनै विवाद नदेखिएको र सदस्यता वितरण अभियान जिल्लाव्यापी रुपमा प्रभावकारी ढंगबाट सञ्चालन गरिने नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्लले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ