arrow

पार्टी विभाजनले नेकपा नेता कार्यकर्ता हतोत्साही, जिल्ला सदस्य र उम्मेदवारसहित कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
congress-prabesh8.jpg

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसंगै नेता कार्यकर्ता हतोत्साही देखिएका छन् । लामो समयदेखि पार्टीमा काम गरेका नेता कार्यकर्ताहरुमध्ये केहीले स्वतन्त्र बस्ने घोषणा गरेका छन् भने केही नेता कार्यकर्ता नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

नेकपा विभाजन भएकै दिन मंगलबार नेकपा पर्वतका जिल्ला सदस्य पद्मकुमारी मल्ल (सुगा) नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जलजला–४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा सदस्यको उम्मेदवारसमेत रहेकी मल्ल जलजलामा नेकपाको प्रभावशाली नेता मानिन्थिन् । 

नेकपामा ठूलो आशा र भरोसा भएपनि अहिले आएर आफ्नो स्वार्थका निम्ति देश र जनतालाई बलि दिनसमेत नेकपा तयार हुँदोरहेछ भन्ने पुष्टि भएको भन्दै उनले आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताइन् । 

उनीसहित आधा दर्जन नेता कार्यकर्ताले नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य डा. चुडामणी शर्मा, जलजलाका सभापति चन्द्रबहादुर जिसी, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनलगायतले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए । 

सो अवसरमा कांग्रेस नेता जोशीले कम्युनिष्टहरु गफ मात्रै गर्छन्, जनतालाई ढाँट्छन भन्ने कुरा अहिले पुष्टि भएको बताए । 

उनले यो देशको आशा र भरोसाका साथै मुलुकको विकास र समृद्धि दिने पार्टी नेपाली कांग्रेस नै भएको दाबी गरे । नेपाली कांग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका जलजला गाउँपालिका अध्यक्ष मल्लले नेपाली कांग्रेसले इतिहासदेखि अहिलेसम्म जनता र मुलुकको लागि गरेको कामले नै अहिले नेपाली कांग्रेसमा प्रवेशको लहर आएको बताए । 

मल्लकै पहलमा जलजलामा नेकपाका निर्वाचित वडा सदस्यसहित झण्डै पाँच सयबढी नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ