arrow

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस मकवानपुरको विचार गोष्ठी

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ पुष १६ बिहिबार
makwanpur-gosti.jpg

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहिबार हेटौंडामा विचार गोष्ठी कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहाक अध्यक्ष विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा विचार गोष्ठी कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य उपाध्यायले कांग्रेसका संस्थापक नेता वीपी, गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत अन्य शीर्ष नेताहरु राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले सम्झिरहने र अहिले देशको अवस्थालाई मध्यनजर गर्दा वीपीको नीति अत्यन्तै आवश्यक रहेको बताइन ।

देशमा कम्युनिष्टले बहुमत प्राप्त गरी ५ वर्षसम्म सरकार चलाउन दिएपनि जनताको मतलाई कुठाराघात गर्दै आन्तरिक किचलोका कारण देशलाई नै बन्धक बनाउने काम गरेको बताउँदै नेतृ उपाध्यायले कम्युनिष्टले जनतालाई दुःख दिंदै देशलाई अफ्यारो परिस्थितिमा पुर्‍याएको बताइन । वि.सं. २०३३ साल पौष १६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौह पुरुष स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा कार्यबहाक सभापति लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष, गोपीलाल विश्कर्मा, जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले वीपी र गणेशमानको योगदान र राष्ट्रिय एकता तथा मेलमिलापको बारेमा प्रस्ट्याएका थिए । विचार गोष्ठीमा कांग्रेस मकवानपुरका पदाधिकारी, महासमिति सदस्यहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, वडासभापतिहरु, भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी एव सदस्यहरु, क्रियाशिल सदस्यहरु र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ