arrow

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः प्रदेश १ लाई ऐतिहासिक उपाधि

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
pm-cup-woman-cricket-final1.jpg

दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आइतबार दाङको लमहीमा भएको प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न पर्याप्त बन्यो ।

एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । भने करुणा भण्डारीले नटआउट २६ रन बनाइन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए । 

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले शानदार सुरुवात दिलाएका थिए ।

यी दुई ब्याटरबीच ५८ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन् ।

रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन पुगिन् । आक्रामक शैलीमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् ।

यी दुई बाहेक टिमका लागि काजल श्रेष्ठले नटआउट रहँदै २९ रन बनाइन् । उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरिन् । 

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा १७ रन खर्चिइन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उपविजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ