arrow

तोरीपानी होमस्टे : फरकपन, फरक अनुभूति

logo
हरि पन्त,
प्रकाशित २०७७ पुष २३ बिहिबार
Toripani-homestay-pokhara.jpg

पोखरा। सामान्यतया होमस्टे र रेष्टुरेन्ट फरक व्यवसाय हो । दुवैले मान्छेलाई खाना, खाजा खुवाउने बास बसाउने भए पनि यिनीहरुको परिचय नै फरक छ । समान्यतया होमस्टेमा होटल-रेष्टुरेष्टमा भन्दा सस्तो खाना र बासको व्यवस्था हुन्छ ।

तर पोखरा महानगरपालिका वडा नं. १८ तोरीपानीमा यस्तै होमस्टे सञ्चालनमा आएको छ । पोखराको विन्ध्यवासिनी मन्दिरदेखि पश्चिमतर्फ आठ किलोमिटरको दूरीमा तोरीपानी नामक होमस्टे रहेको छ ।

त्यहाँ एउटा पुरानो घर छ । उक्त घर होमस्टेका लागि प्रयोग गरिंदै आएको छ । पुरानो घरसंगै नयाँ पक्की घर र सुविधासम्पन्न कोठाहरु हालै निर्माण भएका छन् । 

‘सबै ग्राहक एउटै हुदैनन् । होमस्टेमा हामीले जे दियो, त्यो खानुपर्छ । तर रेष्टुरेन्टमा उनीहरुले अर्डर गरेको अनुसार खान पाउछन्’, सञ्चालक प्रेम तिमिल्सिना भन्छन् ।

होमस्टेमा पाहुनालाई ढिंडो, गुन्द्रुक, लोकल कुखुराको मासुका साथै गाउँमा मात्र उत्पादन भएका खानेकुरा खुवाइन्छ । यो सबै मन पर्न नसक्ने उनी बताउँछन् । 

गाउँका परिकार मन नपराउनेहरुका लागि लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरिएको हो । एक वर्ष अघिदेखि संचालनमा आएको होमस्टेमा करिब आठ हजार मानिस त्यहाँ पुगिसकेका छन् ।

के के छन् विशेषताहरु ?
होमस्टेबाट बिहान सूर्योदय र साँझ सूर्यास्त हेर्न सकिन्छ । नजिकै प्याराग्लाइडिङ स्पट र सराङकोट छ । आँगन जस्तै गरी फेवाताल देखिन्छ । ठाउँ निकै खुला छ । त्यहाँबाट विश्वशान्ति स्तूपा, पुम्दीकोट सजिलै देख्न सकिन्छ । यस्तै त्यहाँबाट लौलुक, बाम्दी, चापाकोट, पञ्चासे, ठूलाखेत लगायतका भूभागहरु पनि देखिन्छ ।

फराकिलो ठाउँ रहेकाले होमस्टेमा खुलेर रमाउन सकिन्छ भने ग्रामिण भूभागको अनुभूति लिन सकिन्छ । जाडोमा आगो तापेर बस्न सकिन्छ । पूरानो मोडलको घरमा सुत्नुको मज्जा लिन सकिन्छ । 

चिसो मौसममा पूरानो घरमा बस्दा पाइने न्यानोपन र गर्मी मौसममा बस्दा पाइने शीतलताको अनुभूति जीवनमा कहिल्यै भुल्न सकिंदैन । यो अनुभूति त्यहाँ पाउन सकिन्छ । होमस्टेले एकै पटक करिब १०० जनालाई सेवा दिन सक्छ । 

होमस्टे वरिपरी प्रशस्त जमिन र त्यसमा लटरम्म तरकारी देख्न सकिन्छ । ती सबै तरकारी 'अर्ग्यानिक' हुन् । होमस्टेमा आउने पाहुनालाई रुची अनुसारको तिनै तरकारी खुवाइन्छ । होमस्टे विवाह, पार्टी, सेमिनार लगायतका कार्यक्रमका लागि निकै उपयुक्त ठाउँ रहेको छ । 

को हुन् सञ्चालक प्रेम ?
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ तोरीपानीमा जन्मिएका प्रेमप्रसाद तिमिल्सिना सानै उमेरदेखि लगनशील , मिहिनेती र इमान्दार थिए । उनको त्यहि लगनशीलता र मेहनतले नै आज यहाँसम्म आउन सफल भएका हुन् ।

प्रेममा पैसा कमाउने हुटहुटीले विदेश पनि पुगे । प्रेमले थुप्रै विदेशको अनुभव बटुलिसकेका छन् । उनी पछिल्लो पटक अमेरिकाको भिसा छोडेर नेपालमै केही गर्नु पर्छ भनेर फर्किए र व्यवसाय सुरु गरे ।

सामाजिक सेवामा समेत निरन्तर लागिपरेका प्रेमले व्यवसाय र समाज सेवालाई एकै साथ अघि बढाउँदै आइरहेका छन् । गाउँको नाम नै तोरीपानी रहेकाले गाउँलाई नै प्रचार गर्ने उद्देश्यले उनले होमस्टेको नाम तोरीपानी राखेका हुन् ।

पर्यटन भ्रमण वर्षलाई लक्षित गरी उनले होमस्टे सञ्चालन गरेका थिए । कोरोना संक्रमणले लकडाउन भएपछि सोही समयमा उनले रेष्टुरेन्ट लगायतका संरचना निर्माण गरेका थिए ।
 

होमस्टेमा एक पाहुनाको अनुभूति
परम्परागत खानपान र नेपाली संस्कृति झल्किने खालको वातावरण छ । तोरीपानी होमस्टेमा हाल सयौं जना बस्न मिल्नेगरी परम्परागत शैलीका घरहरुको व्यवस्था गरिएको छ ।

वाह्य पर्यटनलाई समेत लक्षित गरी बनाइएका सुविधा सम्पन्न कोठाहरु छन् । हेर्दै रहर लाग्दो गरि रोपिएका  मौसम अनुसारका अग्र्यानिक सागपात, तरकारी तथा फलफूलहरु देख्दा त बीिरमै बसेर खाउँ खाउँ जस्तो लाग्दोरहेछ । 

अनि तिनै बारीमा चर्दै गरेका लोकल कुखुरा र खसी बोका अनि तिनै लोकल स्वादमा रमाउँदै, नेपाली कलासंस्कृति झल्कने नाचगान हेर्दै फेवातालको चिसो हावासंगै पोखराको दृश्यले सबैलाई मोहित र प्रफुल्ल बनाउँदो रहेछ ।

हामी सबैले आन्तरिक पर्यटन तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि  सहयोग गरौं । एक पटक तोरीपानी होमस्टेमा जाउँ र रमाउँ । पछुतो लाग्ने छैन । (रामजी बरालले आफ्नो फेसबुकमा लेखेको स्टाटस  ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ