arrow

स्वयंसेवाको एउटा ज्यूँदो इतिहास ‘संजीवनी’ 

logo
यमुना भण्डारी,
प्रकाशित २०७७ पुष २६ आइतबार
sanjivani-sewa-sangh-bir-ho.jpg

काठमाडौं । स्वयंसेवा भन्नेवित्तिकै यसो हल्का फुल्का सहयोग गर्ने भन्ने सामान्य बुझाई छ, हामीकहाँ । तर, निरन्तर ४१ वर्ष स्वयंसेवा गर्नु भने सामान्य कुरो भने पक्कै होइन । जसको एउटा उदाहरण हो, पञ्चायतकालमा जन्मिएको स्वयंसेवी संस्था, संजीवनी सेवा संघ । मुलुककै सबैभन्दा जेठो वीर अस्पताल र साविक कोशी अञ्चल अस्पताल विराटनगरमा अहिले पनि उत्तिकै सक्रिय छ, संजीवनी । बोलीचालीमा गतिलो केही उपचारका उपाय भेटिए संजीवनी बुटी भन्ने गरिन्छ । हो, असहायहरुका लागि संजीवनी सेवा संघ ४१ वर्षदेखि संजीवनी बुटीले झै काम गरिरहेको छ । र, नेपाली स्वयंसेवामा यो एउटा ज्यूँदो इतिहास हो ।

२०३७ साल भदौ ३ गते सुरु भएको थियो, संजीवनी । इतिहास पनि रोचक नै छ, यसको । पञ्चायतमा संघ संस्थालाई दरबारले नै हेर्‍थ्यो अर्थात् दरबारियाहरु नै संस्थाका अगुवा हुन्थे । त्यसैगरी संजीवनी सेवा संघको संस्थापक संयोजक पूर्वराजा ज्ञानेन्द्र शाहकी माइली आमा प्रिन्सेप शाह हुन् । ज्ञानेन्द्रकी माइली आमाको नाम नै अंग्रेजी थियो, प्रिन्सेप । उनको देहान्तपछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु प्रतिभा राणाले यो संस्था सम्हालिन् । त्यसपछि ऐश्वर्यकी भाउजु अञ्जु राणाले पनि अगुवाई गरिन् । 

पंचायतकालमा राजनीतिकर्मीहरु एन्जीओमा छिर्न पाउँदैनथे । ३६ सालको जनमतसंग्रहपछि भने केही व्यक्तिले यस्ता संस्थामा पाइला टेके । ३६ सालको जनमत संग्रहताका जेल परेका दामोदर गौतम कैदीलाई उपचार गर्न लगेका बेला संजीवनीतिर आँखा तान्न पुगेका थिए । गौतम २०४८ सालबाट संजीवनीको आजीवन अध्यक्ष छन् । सानैदेखि स्वयंसेवा रुचाउने गौतमले कैदीका रुपमा उपचार गर्न वीर पुग्दा संजीवनी देखेका थिए । पछि उनैले यो संस्था सम्हाल्ने अवसर पाए । उनी स्मरण गर्छन्, ‘३७ सालमा खुलेको हो, म ३८ सालमै संलग्न भएको हो । म राजनीतिकर्मी भएकाले सदस्यता पाउन मुस्किल थियो । राजनीति गर्नेलाई सदस्यता दिइँदैन थियो । मलाई पनि लामो समय हाजिर नै गराएनन् ।’

बिपी कोइरालाको देहान्त हुँदा शव यात्राको नेतृत्व गरेका दामोदर कांग्रेसभित्र ओझेल छन् तर, उनले यो संस्थालाई अहिलेसम्म विपन्न र असहायमाझ उभ्याएकै छन् । 

कसरी चल्छ ? 
यतिका वर्ष यो संस्था कहाँबाट कसरी चल्यो ? जवाफमा उनले भने, ‘पहिले–पहिले दरबारियाहरुले चलाए । म आएपछि त्यतिबेलाका प्रधानमन्त्रीहरुले सहयोग गर्नुहुन्थ्यो । अहिले स्वास्थ्यमन्त्रालयले दिन्छ । पछिल्लो समय नगरपालिकाले पनि दिन थालेका छन् । हामी वीरमा बसिरहेका छौँ, वीरले पनि सहयोग गर्छ । विराटनगरमा पनि कोशी अञ्चल अस्पतालले सहयोग गर्छ ।’ स्वास्थ्यमन्त्रालयका कर्मचारीले सजिलै चिन्छन् । यसको श्रेय तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटालाई जान्छ । वीर अस्पतालको न्यूरो सर्जन भएका कारण पनि देवकोटाले संजीवनीलाई सँधै हेरे, अध्यक्ष गौतम भन्छन्, ‘उपेन्द्र डाक्टसाव मन्त्री हुँदा वार्षिक बजेटको ५ प्रतिशत र वीर अस्पतालको आम्दानीको ५ प्रतिशत दिने व्यवस्था नै गर्न लाग्नु भएको थियो । त्यसो हुन सकेन । त्यसो भएको भए आर्थिक अभावले कसैले मृत्युवरण गर्नुपर्ने थिएन ।’ अध्यक्ष गौतमका अनुसार अहिले स्वास्थ्य मन्त्रालयले कहिल्यै कति, कहिल्यै कति दिने गरेको छ । अहिलेका स्वास्थ्य मन्त्रीहरु भने कसैलाई नगुहारेको गौतमको भनाई छ । 

के गर्छ संजीवनीले ? 
ओपीडी बन्द भएको बेला बाहेक सँधै सेवा दिइरहेको छ, संजीवनीले । विपद्का बेला २४सै घण्टा खुल्छ । सञ्जीवनीको पहिलो काम रगत अभाव भएका विरामीलाई रगत उपलब्ध गराउनु हो । पैसा तिर्न सक्नेले आफैँ तिर्छन् । नसक्नेका लागि संजीवनी छँदैछ । अर्को महत्वपूर्ण काम भनेको औषधि उपलब्ध गराउनु । पोहोर एउटा घटना भयो, १ लाख भन्दा बढी औषधिमा खर्चिनु परेकी एक महिलाको ज्यान बचाउन सकिएन । गौतम भन्छन्, ‘यसरी औषधि दिँदादिँदै कसैको ज्यान गयो भने साह्रै दुःख लाग्छ ।’ संजीवनीले आर्थिक विपन्नहरुको दाहसंस्कारदेखि घर जाने बाटो खर्च दिँदै आएको छ । बाटो खर्च लिनेहरु नेपाल मात्र नभई छिमेकी मुलुक भारतका पनि छन् । यस्तै, अस्पतालमा उपचार गराईरहेका विरामी र कुरुवालाई खाना खाजा खर्च पनि संजीवनीले दिँदै आएको छ । लुगाफाटो र स्यानिटाइजका सामग्री पनि संजीवनीले विरामीलाई दिने गरेको छ । न्यायका लागि संघर्षरत गोरखा फुजेलकी गंगामाया अधिकारीलाई संजीवनीले चार-पाँच वर्षदेखि नै औषधि र विभिन्न सामग्री उपलब्ध गराइरहेको छ । 



नयाँ