arrow

बरेङमा ‘बुहारी स्वागत कार्यक्रम’

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
married-couple.jpeg

बागलुङ । बरेङ गाउँपालिकाले छोरीबुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त स्थानीय सरकारको लक्ष्यमा टेवा दिन ‘बुहारी स्वागत कार्यक्रम’ शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले जानकारी दिइन् ।

उनका अनुसार आइतबारदेखि गाउँपालिकाका सबै वडामा ‘बुहारी स्वागत कार्यक्रम’ लागू गरिएको छ । “गत वर्षको पुस २६ गते यता विवाह भएर आएका बुहारीमध्ये तोकिएको मापदण्ड पूरा गर्ने मात्र स्वागत तथा सम्मानका लागि छनोट हुन्छन्”, उनले भनिन् ।

गाउँपालिकाले बनाएको मापदण्डअनुसार सम्बन्धित वडाले ‘बुहारी स्वागत कार्यक्रम’ सञ्चालन गर्ने बताइएको छ । नवविवाहित बुहारीले स्वागत तथा सम्मान पाउन कम्तीमा ८ कक्षासम्म उत्र्तीण गरेको, स्थानीय पञ्जिकाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको र दुलाहादुलही कम्तीमा सो गाउँपालिकाको फरक वडाको हुनुपर्ने प्रावधान राखिएको छ ।

सम्बन्धित वडाको निर्णयअनुसार नवविवाहित बुहारी छनोट गरी प्रत्येक महिना एक समारोहको आयोजना गरी स्वागत तथा सम्मान गरिने भएको हो । उक्त कार्यक्रममा स्थानीय स्वास्थ्यचौकी, आमा समूह, क्लबका प्रतिनिधि र सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई अनिवार्य उपस्थित गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

बुहारी उपहारमा नवविवाहित जोडीका लागि उपयोगी हुने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि चाहिने डायरी, कापी, कलम, स्वास्थ्य एवं सरसफाइसम्बन्धी सामग्री र सम्मान-प्रशंसापत्र प्रदान गरिनेछ । नवविवाहित बुहारीलाई सामाजिकीकरण गराउन, सु–संस्कृत एवं सभ्य समाज निर्माणमा प्रेरित गर्न र आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य गराउन कार्यक्रमले मद्दत गर्ने विश्वास लिइएको छ ।

यस्तै तोकिएको समयमा विवाह दर्ताका लागि प्रोत्साहित गर्नाका साथै व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य तथा सरसफाइमा जोड दिन कार्यक्रमले सघाउने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ । गाउँपालिकाले कोही पनि छोरीबुहारी पढाइबाट वञ्चित हुनु नपरोस् भनेर ‘गाउँपालिकाको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’को सोचसहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘गाउँपालिकाको एउटै सन्देश, बाल विवामुक्त हाम्रो सरकार’को लक्ष्यलाई पनि सँगै अघि बढाइएको छ ।

‘उज्यालो बाल बचत’ कार्यक्रममाफत गाउँपालिकाले छोरी जन्मे २० वर्षसम्म मासिक रु एक सय बालिकाको खातामा जम्मा गरिदिन्छ । यस्तै छोरा जन्मेमा भने एकैपटक मात्र रु एक हजार उपलब्ध गराउने गरेको छ ।

शिशुको आमाको विवाह गर्ने उमेर पुगेको, गर्भवती रहँदा नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा मात्र उज्यालो बाल बचत कार्यक्रममा सहभागी गराइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ