arrow

कमलपोखरी पुनःनिर्माणको काम रोक्न स्थानीयको माग, महानगर भन्छ-काम रोकिन्न

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
kamalpokhari1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरी पुनःनिर्माणको काम तत्काल स्थगन गर्न स्थानीय सरोकारवाला तथा सम्पदा अभियन्ताहरुले माग गरेका छन् ।

कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग, स्थानीय सरोकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेकाले सोही अनुसार काम नभए निर्माण प्रक्रिया रोक्न उनीहरुले दबाब दिएका हुन ।

कमलपोखरी संरक्षण एवं जनहित समाजका संयोजक प्रकाश कार्कीले पोखरी निर्माणका सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउने विषयमा समझदारी गर्न पहल गरोस भन्नलाई तत्कालका लागि काम स्थगित गर्न माग गरिएको जनाएका छन् ।

यस सम्बन्धमा निर्माण व्यवसायीलाई पनि जानकारी गराइसकेकाले प्रतिष्ठाको विषय नबनाइ सरोकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबोधन गरेर मात्र काम अघि बढाओस भन्ने आफूहरुको माग रहेको संयोजक कार्कीको भनाइ छ ।

कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरी हाललाई निर्माण रोक्न माग गरेका हुन ।

यसअघि पनि काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा र सम्पदा संरक्षकहरुले महानगरले पहिले गरेको सहमतिको उल्लघंन गर्दै पोखरीको डिजाइन नै फेरबदल गरी काम अघि बढाएको भन्दै आपत्ति जनाएका थिए ।

तर काठमाडौं महानगरपालिकाको पूर्वाधार विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले पोखरीको डिजाइन सबैको सहमतिमै भएकाले निर्माणको काम नरोकिने बताए । उनले भने,‘पोखरी निर्माणलाई राजनीतिकरण गर्न खोजिएको हो, पोखरीको डिजाइन त तीन बर्षअघि देखिनै स्थानीयबासी र सम्पदा संरक्षकहरुसँग गरेको सहमति अनुसार तयार गरेका हौं ।’

कोरोना भाइरसको महामारीका कारण जारी गरिएको लकडाउनका कारण काम केही ढिला भएको स्वीकार गर्दै थापाले भने,‘पोखरी निर्माणका क्रममा मन्डप बनाउन पानी सुकाएका हौं, काममा अवरोध नभए आगामी बैशाखभित्र काम सक्छौं ।’
निर्माण रोक्न चौतर्फी दबाब परिरहेका बेला महानगरपालिकाले सोमबार राती डोजर चलाएपछि स्थानीय र सम्पदा अभियन्ताहरु उत्तेजित भएका थिए ।

ऐतिहासिक पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट बनाउन थालेपछि निर्माण रोक्न दबाब बढेको थियो । महानगरले पारित गरेको डिजाइन पनि स्थानीय र अभियन्ताहरुसँग गरेको सहमति विपरित तयार भएको आरोप छ ।

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भएको छ ।

ऐतिहासिक कमलपोखरी पुनःनिर्माणमा विवाद चर्कियो, महानगरले एकलौटी गर्न खोजेको आरोप

निर्माण रोक्न आदेश विपरीत कमलपोखरीमा रातारात डोजर चलाइयो

ऐतिहासिक कमलपोखरी अस्तित्व मेट्ने प्रयास, काम रोक्न थापाले राखे माग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ