महिला लिग फुटबलः आर्मी र पुलिसले खेले गोलरहित बराबरी 


प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । 

दुवै विभगीय टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको पहिलो हाफमा पुलिसका खेलाडी आर्मीका खेलाडीमाथि हाबी भएका थिए ।

मध्यान्तरपछिको खेलमा भने पुलिसले आर्मीभन्दा राम्रो खेल्यो तर गोल गर्न भने सकेन । खेलको ३०औँ मिनेटमा पुलिसकी निरु थापाको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ४३औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्ने मौका गुमाइन् ।  

यस्तै मध्यान्तरपछिको खेलको ८५औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको प्रयास गरेकी थिइन् । गोलरहित बराबरी खेल्दै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । पुलिसका मुख्य प्रशिक्षक सञ्जीव जोशीले आर्मीविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । यस्तै आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेल बराबरीमा टुङ्गिए पनि आफू सन्तुष्ट रहेको बताए । लामो समयपछि खेल्न पाएकामा उनले खुशी प्रकट गरे ।

बिहीबार लिगमा दुई खेल हुनेछन् । पहिलो खेल एपीएफ क्लब र चन्द्रपुर नगरपालिकाबीच तथा दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् ।

एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको  थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउने छन् । 

प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया :

नयाँ