arrow

कोरोना विरुद्धको १० लाख मात्रा खोप कसले लगाउन पाउँछन् ? यस्तो छ सरकारी तयारी

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
Covid-vaccine-form.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएको एक बर्ष नपुग्दै नेपालमा खोप आइपुगेको छ । भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना विरुद्धको १० लाख मात्रा खोप बिहीबार काठमाडौं आइपुगेको हो ।

पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । हुनत नेपालले पहिलो चरणमा अनुदान तथा खरिदमार्फत ४७ लाखजनालाई पुग्ने गरी खोप उपलब्ध गराउन भारतलाई आग्रह गरिसकेको छ ।

तर विहीबार आइपुगेको खोप १० लाख मात्रा मात्र भएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाइने मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कहिलेबाट र कुन प्रक्रियाबाट खोप लगाउने भन्नेबारे मन्त्रालयले खाका तयार गरिरहेको छ । एक साताभित्र खाका तयारी गर्ने र त्यसपछि मन्त्रालयको खोप भण्डारण रहेको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ ।

प्रवक्ता डा.गौतमले दिएको जानकारी अनुसार हाल आइपुगेको खोप सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने ब्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएको सफाई कर्मचारीलाई दिइने छ । त्यसपछि क्रमश जोखिमका आधारमा चरणवद्ध रुपमा खोप लगाइनेछ । फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, जोखिममा खटिने अन्य कर्मचारीलाई त्यसपछि लगाइने डा.गौतमले हाम्राकुरालाई जानकारी दिए ।

मन्त्रालयका अनुसार यो खोप एक जना ब्यक्तिले दुई डोज लगाउनुपर्छ । खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा गरेको मन्त्रालयले जनाएको छ । खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम पनि दिन थालिएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १ हजार ९७५ जना व्यक्तिको मृत्यु भइसकेको छ । २ लाख ६८ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएर घर फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ