घना जङ्गलबाट लाहुरेको शहर बनेको धरान


प्रकाशित

तस्विर: वेब

धरान । धरान नेपालको एक सुन्दर तथा विविध सांस्कृतिक विविधतायुक्त शहरका रुपमा परिचित छ ।  आधुनिक र ‘फेशनएबल’ शहरका रुपमा चिनिएको ‘धरान’ नामकरणको पनि बेग्लै इतिहास छ ।  शुरुमा यो क्षेत्रमा घना जङ्गल थियो ।  जङ्गल फँडानीका क्रममा काठ चिर्न आरावाला आउन थाले । उनीहरुले काठ चिर्दा तयार गरेको धरान (धराप) बाट नै आजको धरान शहरको नामकरण भएको स्थानीय बूढापाकाको भनाइ छ ।
 
विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको थियो । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा पाइन्छ ।

लाहुरेको शहर
विसं २०१० मा पूर्वाञ्चलका लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछि मुख्यरुपमा धरानमा बसोबास तथा चहलपहल बढेको हो । त्यसपछि धरानमा तीव्र विकास हुँदै जाँदा २०१७ सालमा धरान नगरपालिका घोषणा भएको थियो । विसं २०१८ मा तत्कालीन नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकामसमेत धरानलाई मानिएको थियो । पछि राजनीतिक किचलोले विराटनगर सारिएको थियो ।

विविध जाति तथा जनजातिको बसोबासस्थल र कला साहित्य, संस्कृति तथा खेलकूदका क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर शहरका रुपमा विकास हुँदै गएको छ । धरान उपमहानगरपालिकाले पनि यही नारालाई आत्मसात् गर्दै अघि बढेको छ ।

जनजाति तथा पूर्वब्रिटिस सैनिकको बाहुल्यता रहेको धरानलाई लाहुरेको शहर पनि भन्ने गरिन्छ । विभिन्न जातीय संस्कृतिको सङ्गमस्थल भएकाले यहाँ विभिन्न जनजातिको अध्ययन र अवलोकन गर्न सकिने भएकाले साँस्कृतिक पर्यटनका दृष्टिकोणले धरान महत्वपूर्ण भएको पर्यटन अभियन्ता कृष्ण शाह बताउछन् ।  कला भाषा साहित्य एवं विभिन्न संस्कृतिको सङ्गमस्थलका रुपमा रहेको धरानलाई साँस्कृतिक तथा आध्यात्मिक पर्यटनको आकर्र्षक केन्द्र बनाउन सकिने धरान उपमहानगरपालिका पर्यटन विकास समिति सदस्य समेत रहेका उनको भनाइ छ ।

धरानको बृहत्तर विकासका लागि उपमहानगरपालिकाले ‘टुरिजम मास्टर प्लान एण्ड धरान एरिया’ नाम दिएर सन् २०११ मा नै गुरु योजना तय गरेको थियो । योजनाले निर्देश गरेका तथा सुझावबारे  उपमहानगरपालिकाले क्रमशः कार्यान्वय गर्दै आएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताए ।

योजनामा धरान–१७ स्थित सप्तरङ्गी उद्यान, धरान १४ मा बहुजातीय सङ्ग्रहालय निर्माण, धरानमा रहेका प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबा धाम, बूढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, विजयपुरको भताभुङ्गे दरबार, धरान–१८ को बौद्ध गुम्बालगायतका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थल संरक्षणमा उपमहानगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । सो योजनामा नसमेटिएका सप्तकोशी नदीमा जलयात्रा चतरादेखि कोशी ब्यारेजसम्म नौका दौड, भेडेटारबाट प्याराग्लाइडिङ, पाँचकन्यामा नेचुरल मिनी जुका  रुपमा विकास गर्ने जस्ता योजना थपिएका छन् ।

संस्कृति पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले अग्रस्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि धरान आकर्षणको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटाले बताए । धरानमा आध्यात्मिक पर्यटनको प्रचूर सम्भावना रहेको छ ।  प्राग ऐतिहासिककालदेखि हालसम्मको कलासंस्कृति रहेकाले धरान सांस्कृतिक र आध्यात्मिक पर्यटनका हिसाबले सबैभन्दा अगाडि रहेको आध्यात्मिक चिन्तनमा झुकाव राख्ने पत्रकार आनन्द श्रेष्ठले बताए । धरान–२० स्थित ध्यान केन्द्रसमेत खोलिएको छ ।

प्रशस्त सांस्कृतिक सम्पदा मठमन्दिर प्राकृतिक वातावरणका हिसाबले सुन्दर शान्त भएकाले पूर्वाधार निर्माण गर्नसके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । सम्भावना धेरै भए पनि सरोकार निकायको बेवास्ताले धरानमा पर्यटक भित्र्याउन भने सकिएको छैन । यहाँका ऐतिहासिक मठमन्दिर, पर्यटकीयस्थलको प्रचारप्रसार तथा जीर्णोद्वारमा सरकारी तथा गरैसरकारी निकायले चासो दिएको पाइँदैन ।

जनसहभागिताको नमूना शहर
धरानलाई जनसहभागिताको नमूना शहरका रुपमा पनि चिनिँदै आएको छ । धरानमा विभिन्न जनसहभागिताका योजना तथा धराने जनताको सक्रिय सहभागिता अध्ययन अवलोकन गर्न मानिस धरान आउने गर्दछन् । यहाँका सामुदायिक वन समूहको अध्ययन गर्न अन्य जिल्लाका वन समूह आउने गर्छन् । हरियाली, लाङघाली तथा एलम्बर सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवद्र्धनलाई ध्यानमा राखेर नमूना काम गरेको छ । ती समूहको काम तथा यहाँ भएका विकास, तथा पूर्वाधार अवलोकन गर्न अन्य जिल्लाका वन समूह आउने गरेका छन् ।

उपमहानगरपालिकामा जनसहभागिताको इतिहास हेर्दा २०३५ सालदेखि नै शुरुआत भएको पाइन्छ ।  जनसहभागिताको सक्रिय शुरुआत भने ०५५ देखि भएको नगरपालिकाले जनाएको छ । जनसहभागिताको शुरुका दिनमा उपभोक्ताको २५ तथा ४० प्रतिशत र नगरपालिकाको ७५ तथा ६० प्रतिशत लागतका आधारमा योजना सञ्चालन गरिएकामा पछि आएर क्रमशः नपा र जनसहभागिता ५०-५० प्रतिशतसम्मको लागतमा समेत योजना सम्पन्न भएका छन् । तत्कालीन नगरप्रमुख स्व ध्यानबहादुर राईले जनसहभागिताको मोडेल भित्र्याएका थिए । पछि प्रमुखमा मनोजकुमार मेयाङ्म्बो आएपछि उक्त योजना कार्यान्वयन गरेका थिए । धरानमा ६० प्रतिशत जनताका र ४० प्रतिशत उपमहानगरपालिकाको लगानी गरेरसमेत नमूना सडक निर्माण भएका छन् ।

धरान हङ्कङ मञ्चमार्फत हङ्कङमा गएर बसेका धराने मकाउमा बस्ने धराने र धरान उपमहानगरवासीसहित धरान उपमहानगरपालिकाको सहयोगमा धरानको भानुचोकमा निर्माण भएको धरान घण्टाघर पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु मानिँदै आएको छ ।

पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार तथा पहाड र तराईको सङ्गमस्थलका रुपमा धरानलाई चिनिन्छ । भौगोलिकस्थिति हावापानी यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वकास्थल साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वकास्थलले यसको पर्यटकीय सम्भावना बलियो भएको प्रस्टाउछ ।

धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका बूढासुब्वा दन्तकाली पिण्डेश्वर पाँचकन्या मन्दिर विजयपुरको ऐतिहासिक भताभुङ्गे दरबारलगायत यहाँको आकर्षणका केन्द्रबिन्दु भएको १४ नं वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । यहाँका मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाबाट पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दै आएको छ । साउनमा लाग्ने बोलबम मेलामा लाखाँै धार्मिक पर्यटक आउने गर्छन् । उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बजेट पिण्डेश्वर बाबाधामलाई दिँदै आएको छ ।

आसपासमा रहेका धार्मिक महत्वका स्थान
 यहाँ बाह्रै मास चिसो हावापानी पाइने भेडेटार तथा बेलायतका युवराज चाल्र्स चढेको पहाड ‘चाल्स प्वाइन्ट भेडेटार भ्यू टावर’ तथा धरानमा विकसित हँुदै गरेका विभिन्न पार्कले धरानलाई पर्यटकीय केन्द्रका रुपमा विकासित गराउँदै लगेको छ । धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थान र त्यहाँ लाग्ने मेला वराहक्षेत्र विष्णुपादुका रामधुनी पाञ्चायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पुर्‍याउँदै आएको छ ।
 
धरानदेखि नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षणले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर्‍याएको छ । विभिन्न प्रजातिका चरा तथा अर्ना अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक धरान धरानको सांस्कृतिक तथा धार्मिक क्षेत्रको अवलोकन गर्न चुक्दैनन् । पहाडी जिल्लाको नाका भएकाले रमणीय ठाउँ धनकुटा ताप्लेजुङ कुम्भकर्ण हिमाल कञ्चनजङ्गा मकालु हिमाल बरुण राष्ट्रिय निकुञ्ज अरुण उपत्यका तिनजुरे मिल्के लालीगुराँस गुफा पोखरी सभा पोखरी ह्यातुङ झरना आदिको प्रवेश मार्ग पनि धरान नै हो ।

अर्कोतिर धरानका विभिन्न जाति जनजातिका साँस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यकीय महत्वलाई सहयोग पुर्‍याएको छ । किराँत जातिको उधौली उभौली उत्सव नेवार जातिको लाखेनाच गाईजात्रा, यमरी उत्सव तामाङ जातिको शेलो गुरुङ जातिको रोदीधर तथा क्षेत्रीबाहुन जातिको बालननाच तथा सङ्गिनी आदिका लागि पनि धरान केन्द्रस्थल बनेको छ । लिम्बूले त दुई दशकदेखि चासोक तङ्नामको सामूहिक उत्सवको आयोजना गरेर साताभर मनाउँदै आएका छन् । यो वर्ष भने कोरोनाका कारण उल्लासमय भएन ।

धरानको प्रवद्र्धन तथा विकासका लागि कार्यक्रम लिएर आउने संस्थालाई नगरपालिकाले सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दै आएको छ । “हामीहरुले पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम आफैँ सञ्चालन नगरे पनि राम्रो कार्यक्रम लिएर आउनेहरुलाई सहयोग गरिरहेका छौँ”, पर्यटन विकास समितिका सहसंयोजक किशोर थुलुङले भने ।  

सप्तकोशी नदीमा जलयात्रा चतरादेखि कोशी ब्यारेजसम्म नौका दौड धरान–४ स्थित दानाबारीबाट प्याराग्लाइडिङ शुरु भएको छ । निजीस्तरमा भेडेटारबाट जिप फ्लाइङसमेत सञ्चालनमा आएको छ ।

पाँचकन्या जङ्गलको सिरानमा रहेको किराँतकालीन दरबारको भग्नावशेषको उत्खनन चारकोशे झाडीलाई संरक्षण र सवद्र्धन गरी विभिन्न जैविक विविधताको संरक्षण धरान विष्णपादुका बराह क्षेत्र केबलकार सञ्चालन गर्न सकिने र निजी क्षेत्रले सम्भाव्यता अध्ययन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपनगरपालिका ५० बाट पुगेका अवसरमा विसं २०६८ माघमा भएको स्वर्ण महोत्सवका अवसरमा धरानको दृष्यालोकनलाई सहज बनाउन धरान–१४ स्थित दन्तकाली मन्दिर छेउ भ्युटावर निर्माण गरेको छ । यस्तै चिन्डेडाँडामा पनि हालै भ्युटावर सञ्चालनमा आएको छ । प्रतिनिधिसभा सदस्य जयकुमार राईको संसद् विकास कोषका लगानीमा टावर निर्माण गरिएको सांसद राईले जानकारी दिए ।

सार्कस्तरीय बिपी प्रतिष्ठान
सार्कस्तरिय बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग रहेको अन्तरराष्ट्रियस्तरको गल्फ मैदान पनि यहाँको आकर्षणको केन्द्र हो । प्रतिष्ठानमा विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रका व्यक्ति आउने गदर्छन् । यहाँ विश्वमा नभएका ठूला वैज्ञानिक अनुसन्धान हुने गरेका छन् । यी प्रचर सम्भावनालाई पूरा गर्न सकियो भने धरान साचिकै पर्यटकीय गन्तव्य बन्न सक्छ । पिण्डेश्वरमा श्रवण महिनामा लाग्ने बाबाधाम मेलालाई व्यवस्थित गरी अझ बढी प्रचारप्रसार गर्न सकेमा लाखौँ भारतीय आध्यात्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।

धरान उपमहानगरपालिकालाई पर्यटकीय केन्द्र बनाउन उपमहानगरले जुन काम गरी रहेको छ, यति मात्र पर्याप्त भने होइन । ऐतिहासिक धरोहर पुर्खाको चिनो र नयाँपुस्ताका लागि एउटा खुला किताब पनि हो । इतिहासको कालखण्ड बुझ्र्ने र इतिहासलाई मनन गर्न पुर्खाको चिनो संरक्षण र प्रवद्र्धनका लागि उपमहानगरले ठूलो लगानी गर्नुपर्ने सरोकारवाला बताउछन् । यहाँ पर्याप्त सम्पदा रहेका छन् । यिनीहरुको व्यवस्थापन मात्र गर्नसके धरानलाई पूर्वका प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिनेछ ।


प्रतिक्रिया :

नयाँ