arrow

सदरमुकाम क्षेत्रमै खानेपानीको हाहाकार भएपछि स्थानीय आन्दोलित

दुःख धेरै पाईयो, हामीलाई पानी चाहियो भन्दै अमरगढी नगरपालिका कार्यालय घेराउ

logo
राम धामी,
प्रकाशित २०७७ माघ ११ आइतबार
ddl-water.jpg

डडेल्धुरा । खानेपानीको मागगर्दै डडेल्धुराको सदरमुकामस्थित अमरगढी नगरपालिका आइतबार घेराउ गरिएको छ ।  सदरमुकामस्थित अमरगढी नगरपालिकाको वडा नम्बर ८ का स्थानीय खानेपानीको मागगर्दै आन्दोलित भएका हुन् । सदरमुकामसँगै जोडिएका खनमडा, टाँटर, डकले बजार, तोली सिंलगा, रातागौंन, र लटाउली लगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको भन्दै सयौंको संख्यामा आएका स्थानीयले पटक पटक खानेपानी योजना माग गर्दा पनि अमरगढी नगरपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरेका छन् ।

स्थानीय महिलाहरुको समेत उल्लेख्य सहभागिता रहेको आन्दोलनमा सहभागीहरुले अमरगढी नगरपालिकाले बजारक्षेत्रसँगै जोडिएका बस्तीहरुमा खानेपानीको व्यवस्था गर्न पटक पटक माग गर्दा पनि सुनवाई नगरेकाले नगरपालिका कार्यालय घेराउ गरिएको बताए ।  ‘धेरै दुःख पाईयो, हामीलाई पानी चाहियो !, स्थानीय सरकार मुर्दावाद !, भ्रष्टाचार बन्द गर, हाम्रो जीवन रक्षा गर ! जस्ता चर्का नाराबाजी गरेर प्रर्दशनमा उत्रिएका स्थानीयले कार्यालय घेराउ गरेपछि केहिबेर कार्यालयको सेवा अवरुद्ध भएको छ ।

नाराजुलुससहित गाउँबाट आएका उनीहरुले अमरगढी नगरपालिका कार्यालय घेराउ गरेपश्चात सदरमुकाममा प्रदर्शन समेत गरेका छन् । अमरगढी नगरपालिकाका नगरप्रमु्ख विश्वेश्वरप्रसाद ओझाको आफ्नै वडा भएर पनि नगर नेतृत्वले समस्या समाधानका लागि कुनै किसिमको पहल नगरेको आन्दोलनको नेतृत्व गरिरहेका स्थानीय अगुवा डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले बताए ।

‘अमरगढी नगरपालिकाको दमकल कतिखेर आउला र खानेपानी भरौला भनेर दिनभर कुर्नुपर्ने अबस्था छ,’ स्थानीय महिला नेतृ बिस्ना गैरालले भनिन, ‘सदरमुकामसँगै जोडिएका तीन सय भन्दा बढि घरधुरी खानेपानी अभावमा काकाकुल छौ, तर खानेपानी समस्या समाधानका लागि तीनओटै तहका सरकारले माग सम्बोधन नगर्दा बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’

नगरपालिका कार्यालय घेराउपछि आन्दोलनकारीहरुले सातदिन भित्र माग सम्बोधनका लागि अल्टिमेटम दिदैं अमरगढी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको अमरगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले जानकारी दिए । तीनओटै तहका सरकारलाई सम्बोधनगर्दै अमरगढी नगरपालिकालाई पेश गरिएको ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत सुदूरपश्चिमभ प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई दिइएको आन्दोलनमा सहभागी स्थानीय इन्द्र सार्कीले बताए ।

‘अमरगढी नगरपालिकालाई स्मार्टसिटी बनाउने नारा दिएर निर्वाचनमा विजय हासिल गरेको नगर नेतृत्वले खानेपानीका लागि पटक पटक मागगर्दा पनि सुनवाई नगरेकोले बाध्य भएर आन्दोलनमा उत्रिएका हौ,’ उनले भने, ‘एकहप्ताको अल्टिमेटम दिएका छौं, माग सुनवाई नभएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छौ ।’ तीनओटै तहका सरकारले माग सुनवाई नगरेमा राजमार्गमा चक्काजाम गर्ने र बजार बन्द गर्ने किसिमका आन्दोलनका कार्यक्रमहरु तय गरिने आन्दोलनकारीहरु बताउछन् ।

हाल राजधानी काठमाण्डौंमा रहेका अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले स्थानीयको मागअनुसार चालु आर्थिक बर्षमा मुसेपानी खानेपानी योजना मर्मत सम्भारका लागि २५ लाख बजेट बिनियोजन भईसकेको र सो खानेपानी योजनाबाट खानेपानी आपुर्ती हुन नसक्ने ४०–५० परिवारका लागि सदरमुकामस्थित खलंगा खानेपानी योजनाबाट खानेपानी आपुर्ती गर्ने सहमती भईसकेको जानकारी दिए । खानेपानीको हाहाकारमा रहेका स्थानीयलाई हाल अमरगढी नगरपालिकाले दमकलमार्फत खानेपानी आपुर्ती गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ