arrow

कम्युनिष्ट सिद्धान्तको तिलाञ्जलीः भक्तिमार्गमा प्रचण्ड र ओलीहरु

logo
संजिव कार्की,
प्रकाशित २०७७ माघ १८ आइतबार
sanjeeb-karki-article-prachanda-baburam-oli.jpg

भौतिकवाद र अध्यात्मवाद अर्थात ईश्वरप्रतिको विश्वास दुई फरक धार र वौचारिकी हुन् । मार्क्स धर्मलाई अफिमसँग तुलना गर्थे । धर्मको शक्तिलाई लठ्याउने अफिम भन्थे । धर्म अफिम यसकारण कि काल्पनिक संसारमा मानिसलाई विचरण गराउने अदभूत क्षमता राख्छ धर्मले, लठ्ठ पार्ने अफिमको नशा झैं हुन्छ धर्म । तसर्थ काल्पनिक संसारको मोह छोडेर वास्तविक धरातलमा रहनपनि ईश्वरको जन्जाल र घेराफेरीबाट मान्छे मुक्त हुनुपर्छ । काल्पनिक भ्रम होइन, यथार्थ नै कम्युनिष्टहरुको दर्शन हो । भौतिकवाद नै सबथोक हो । भ्रम र भ्रान्तिबाट मुक्त क्रान्तिकारी वैज्ञानिक तर्क, प्रमाण, परिणाममा नै कम्युनिष्टहरु विश्वास गर्छन् ।

धर्म अन्धविश्वास र शोषणको लागि शासकहरुले अन्वेषण गरेको माध्यम हो । तसर्थ मुर्ति पूजा बलि, अनेकन नामका ईश्वरप्रतिका आस्था लगायत यावत धर्म सम्बन्धि प्रथा र परम्परा कम्युनिष्ट दर्शन निष्ठा र विज्ञानको विपरीतार्थक विषय र सन्दर्भ हुन् । धर्म सत्य हो या होइन, ईश्वर छन् या छैनन् यो विवेचना गर्ने बेग्लै पाटो हो । यहाँ केवल आस्थाको बेचबिखन र ढोंगको प्रदर्शनको विषयलाई मात्रै विषयबस्तु बनाइएको छ । कम्युनिष्ट हुनु भनेको विज्ञानको तर्क, तथ्य र प्रमाणमा विश्वास गर्नु हो । नदेखिने अदृश्य कुरामा बहकिनु, समय फाल्नु, फजुल कुरा गर्नु होइन ।

यसर्थ कम्युनिष्ट पार्टीले धर्म र ईश्वरलाई काल्पनिक कुरोकंथो अप्रमाणीत अन्धविश्वासको रुपमा ग्रहण गर्छ र यसको विपक्षमा आफ्नो मत राख्छ व्यवहार देखाउँछ । सारमा यस्तैयस्तै कुरा कम्युनिष्ट पार्टीको अवधारणा भएको हुनाले परम्परगत धर्म कम्युनिष्टहरुको निष्ठा र आदर्श विल्कुल होइन भनेर बुझ्न सकिन्छ । यद्यपी, मन्दिर भत्काउनै पर्छ भन्ने लिखित दस्तावेज कतै नदेखिए पनि जनयुद्धकालिन समयमा तत्कालिन माओवादीले मन्दिर भत्काउने, धार्मिक आस्था र विश्वासको कारण जनै लगाउने, टुप्पी पाल्ने, पुजापाठ गर्ने कामलाई निषेध गर्न खोजेको कुरा कसैको विस्मृतिमा पुगेको छैन् ।

संस्कृत शिक्षा सामन्तवादी व्यवस्थाको वैचारिक शोषणको बलियो हतियार हो जसलाई वहिष्कार गर्नुपर्छ । समूल नष्ट पार्नुपर्छ भनियो र संस्कृत पढ़ाइ हुने लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई रुखमा बाँधेर विभत्स मृत्यु रोजाइयो । मृत्यु कर्मलाई हिन्दु धर्मको ढोंग भनियो । आज संस्कृतिकै श्लोक कम्युनिष्ट नेताहरुलाई मुखाग्र छ । हुनत आममान्छे विरोधाभषपूर्ण जीवन बाँचिरहेका हुन्छन् । आम मान्छेको हकमा विरोधाभाष नबुझेको र सामाजिक संरचनाले बाध्य पारेको अवस्था हो भने कम्युनिष्ट नेताहरुको सन्दर्भमा ढोंग र पाखण्ड हो । आफ्नो जीवन दर्शन राजनीतिक र सैद्दान्तिक मान्यताको विपरित जानु परिस्थितिजन्य उपज हो भने विगतमा ढोंग प्रकट गर्नु र आज चैं समाजको मूल्यसँग साक्षात्कार गर्न आउनु नीतिगत सैद्दान्तिक दार्शनिक क्षयीकरणमा पुग्नु हो । नैतिक धरातल भासिनु र वरण गरिएको वादको काँचुली फेर्नु हो । स्खलन देखिनु हो ।

समाजका प्रतिष्ठित कम्युनिष्ट नेताहरु र तिनको आस्थागत धार्मिक यात्रा विरोधाभासपूर्ण जीवनशैली र चर्तिकला एकपटक पढौं । राज्य प्रमुखको नाताले बिभिन्न धार्मिक स्थलमा राष्ट्रपतिको पूजा राजकीय बाध्यता मान्न सकिन्छ । राष्ट्र प्रमुख जुनसुकै धर्मका मन्दिर, गुम्बा, मस्दिजमा परम्परागत निरन्तरता दिन जानु कम्युनिष्ट पृष्ठभूमीको भएपनि अन्यथा लिन हुँदैन । राष्ट्रको अभिभावकलाई त्यो स्वतन्त्रता छ । ईश्वरको नाममा सपथ अस्विकार गर्ने प्रचण्ड-बाबुराम र केपीका केही दृष्टान्त यहाँ छन् ।

जनयुद्ध कालमै वार्ताको लागि भूमिगत जीवन त्यागेर बाहिर निस्कंदा बाबुरामले आफ्ना बाबुआमालाई मनकामना घुमाएको तस्विर त्यतिबेला सार्वजनिक भएको र आलोचना भएको थियो । आज बाबुराम कम्युनिष्ट रहेनन् । उनको कुरा यति मात्रै । प्रचण्ड २०६४ मै प्रधानमन्त्री भएको बेला अनौठोसँग भैंसी पूजा गर्न चतराधाम पुगे । उनलाई भैंसी पूजा गराउने सिद्धबाबा भनिने कृष्ण गिरी बलात्कारको अभियोगमा पुर्पक्ष गरेर थुनामुक्त भएर मुद्दा लडिरहेछन् । प्रचण्डले २०७५ जेठमा आफ्नो पूर्वजको थलो भन्दै काभ्रेको नालामा कुलपूजा गरे । प्रचण्डको वैचारिक स्खलनको ताजा नमूना हो । श्रीमती सीतालाई उपचारको बहानामा रामदेव बाबाको शरणमा पठाएर गौ पूजा र गौ सेवामा लगाउनु । बैशाख १०,२०७५ मा आफ्नो ५०औं वैवाहिक वर्षगाँठमा परम्परागत विवाह गरेर भव्य भोज आयोजना गर्दा जनवादी बिहे गर्नुपर्छ भन्ने प्रचण्ड आदर्श कुन दुलोमा लुक्यो ? आमनेकपा कार्यकर्ताले प्रचण्डलाई गर्नुपर्ने प्रश्न ? प्रचण्ड तीनै मान्छे हुन जसले मुर्तिपूजाको बिरोध गरे । मन्दिरका पूजारीको टुपी काटिदिने, जनै चुँडाइ दिने, देवता छैनन् धर्म भनेको पाखण्ड हो, गाई काटेर खान पाउनुपर्छ भन्दै बलजफ्तीमा गाई भोज लगाउन लाए । कृयाकर्म गर्न रोकमात्रै लगाइएन्, क्रियास्थलबाट लगेर क्रियापूत्रीलाई मारियो । त्यस्ता कर्मगर्ने कार्यकर्ताको संरक्षण गर्ने प्रचण्ड आज के गर्दै छन् ?  तत्कालिन परिस्थितमा भएका त्यस्ता घटना हाम्रो पार्टीको नीति विपरित र हामी मान्छेको धार्मिक आस्थाको कारण कसैलाई कारवाही गर्दैनौं भनेको भए आज प्रचण्डको धार्मिक स्वतन्त्रता र नैतिकतासँग जोडेर प्रतिरक्षा गर्न सकिन्थ्यो । आज प्रतिवाद गर्ने नैतिकता छैन् । निरीहता मात्रै बाँकी छ ।

प्रचण्डले बाआमाको कृया गरेनन् तर समयको फैसला संधै कहाँ एकनास हुँदोरहेछ र ? प्रचण्ड आफ्ना बाबुको मृत्यु हुँदा सुटमा ठाँटिएर लेदरको जुत्ता लगाएर क्रान्तिकारी दागबत्ती दिएका थिए । छोरी ज्ञानुको मृत्यु हुँदा सामान्य पहिरनमा आर्यघाट पुगेर सार्वजनिक रुपमा बेस्सरी रोए । आफ्ना सन्तानको माया कसलाई हुँदैन र प्रचण्ड पनि यही धर्तीका अरु जस्तै शारीरिक अवयव भएका मानिस हुन् । उनीसँग पनि आंशु ,हांसो ,सुख ,दुख छ । मानवीय संवेदना छ । तसर्थ अरुलाई झैं उनलाई पनि दुख्ने पोल्ने हुन्छ । देशभित्र रहेको सांस्कृतिक चेतना, परम्पराको अटुट शृंखला र धार्मिक आध्यात्मिक भावना एकाएक कहाँ हराउँछ ? जुन मान्छेको रगतको कण कणमा बगेको हुन्छ जसलाई मेटाउन हटाउन सजिलै सकिन्न । सिद्दान्तमा जे भने पनि प्रचन्डलाई आपत्ति गहिरोसँग परेको कुरा उनका गतिबिधि र परिवर्तनले संकेत गरेका छन् । आफूलाई दुःख पर्दा मान्छेले पूकार्ने पहिलो नाम आमा र भगवान हो ।

हामी पूर्वीय दर्शन ,शिक्षा, धर्म, संस्कृति र सभ्यताबाट दीक्षित र अनुप्राणित नेपाली हौं । आफ्नो संस्कृति धर्मप्रति यदाकदा विचलित बनेपनि त्यसलाई चटक्क छोड्ने हामीसँग नैतिक तागत र साहस छैन, मनोविज्ञान तयार छैन । यत्रतत्र सर्वत्र हामी धार्मिक प्रवृत्ति र अनुस्ठानबाट बाधिएका छौं । जहाँ जाँउ, जसो गरौं हाम्रो व्यवहार, जीवनशैली, पद्दति आचरणमा धर्म संस्कृतिको गहिरो प्रभाव, अमिट छाप र  निरन्तरता छ । एकाध बाहेक सांस्कृतिक र धार्मिक, जीवन शैलीमा बाँच्ने अभ्यस्तता आजपनि त्यस्तै  छ । जसलाई आजको भोलि बदल्ने चेष्टा समाज विज्ञानको गतिको नियम बिपरित हुन्छ । हामीले राजनीतिक परिवर्तनको खातिर राजा फाल्यौं तर हाम्रो सांस्कृतिक परम्परा र शैलीमा आज पनि राजाको स्थानलाई नकार्न सकेका छैनौं ।

हामी जिन्दगीमा सांस्कृतिक निरन्तरताको पक्षमा चाहेर नचाहेर बाँधिएका छौं । जसको पछिल्लो प्रमाण प्रचण्डको विबाह अनि त्यसको सामाजिक र मनोवैज्ञानिक अध्ययन हो । सामाजिक र व्यवहारिक अनि पारिवारिक कारणले हाम्रा कथित राजनीतिक आस्था र विश्वास कति छिटो गर्ल्यामगुर्लुम ढल्छन भन्ने कुराका लागि अरु प्रमाण र तथ्य खोतल्नु जरुरी छैन । प्रचण्डमा आएको विचलन हेर्दा पुग्छ । व्यक्तिको मनोविज्ञान समाजको मनोविज्ञानसँग कसरी जेलिएको हुन्छ ? मान्छे आफूलाई नपरी चेत्दैन भन्ने ताजा उदाहरण हुन प्रचण्ड । बाबुको मृत्यु ,छोरीको मृत्यु अनि एक मात्र जवान छोराको मृत्युले प्रचण्डमा जुन बदलाव आयो त्यो हाम्रो धार्मिक सांस्कृतिक, मनोविज्ञानको प्रभाव हो ।

पिता, पुत्री अनि अकल्पनीय रुपमा पुत्र प्रकाशको देहान्तले प्रचण्ड अति कमजोर मनोविज्ञानमा छन् । त्यसैले उनले बिगतका आफन्तको मृत्यु वियोग भन्दा फरक र कमजोर देखिए । छोराको दागबत्ती दिंदा कट्टर हिन्दुधर्मका अनुयायी झैं गरे । भलै उनले १३ दिने कृयाकर्म गरेनन् तर एक भौतिकवादी चिन्तक धार्मिक आस्थातिर विस्तारै झुक्दै र गल्दै गए, घिसरिंदै गए । निहूँ र बहाना जेसुकै होस् । यिनको यो स्विकारोक्ती सांस्कृतिक सामाजिकीकरणको अभिव्यक्ति हो ।

तसर्थ समाज र संस्कृति अनि धार्मिक रुढता एक व्यक्तिले एक चुड्का बजाएको भरमा परिवर्तन हुन कठिन हुन्छ । हिन्दु धर्म र संस्कृति अनि परम्परा सबै एकै होइन् र समग्रमा एकै भनेर बुझिन्छ त्यो बुझाई परिवर्तन गरि यहाँ भित्रका अवैज्ञानिक परम्परा र चलनलाई छोड्नु , परिमार्जन गर्नु र परिस्कृत रुपदिनु आजको टडकारो खाँचो हो । निषेध र प्रतिशोध खोज्नु मुर्खता हो । यसर्थ प्रचण्ड अब धर्मलाई पाखण्ड र अफिम भन्ने स्थितिमा छैनन् । सामाजिक भएर सोच्नु बुझ्नु र व्यवहार गर्नु आजको प्रचण्ड मनोदशा हो । आत्मिक चैंन र शान्ति बिनाको जीवन कसैलाई मन पर्दैन र प्रिय हुँदैन अशान्त मनले सँधै दुविधाग्रस्त र शंकालु बनाउछ । पारिवारिक शोक सन्ताप र श्रीमतीको असाध्यै रोग बिमारको कारण प्रचण्ड यतिबेला होम, जप, यज्ञ यज्ञादी जे गर्दा शान्ति र सुख मिल्छ त्यो गर्ने स्थितिमा आइपुगेका छन् ।

दौरा सुरुवाल लगाएर धोती पाटा फेरेर बस्न बाहेक हिन्दु धर्मका अनुयायी ब्राम्हणले जे गरेका छन ती सबै कर्म प्रचण्डले पूरा गरिसकेका हुनाले उनी पूर्णतया विचलनमा पुगेका, विक्षिप्त मनस्थितिमा रहेका पारिवारिक शान्ति खलबलिएका शोक र संतापले प्रताडित नेपाली राजनीतिका दुर्भाग्यपूर्ण जीवन बाँचेका नेता हुन् । यिनलाई पनि शान्ति र अमनचैन मिलोस् ।

अनुभूतिको तहमा गहिरिएर प्रचण्डले बुझ्नुपर्ने बुझाउनुपर्ने तथ्य र सत्य के हो भने प्रचण्डको जस्तो मुटु छ त्यस्तै मुटु प्रचण्डको जनयुद्धको कारण सब घर परिवार गुमाएका, विचल्लीमा परेका श्रीसम्पत्ती हरण गरिएका, अनाहकमा मारिएका, बेपत्ता,अंगभंग भएका तिनका छोराछोरी र बाबुआमा सबैको छ । तिनका पनि दुःखका महासागर छन् । अप्ठ्यारो र दुरावस्थाका दुर्दान्त दिनहरु छन् । गंगामाया अधिकारीले आफ्नो छोरा मार्नेलाई सजाय देउभन्दा भोकै बसेको पति गुमाउँदा र आजपनि एक महिनादेखि न्यायको भिख मागेर भोकै छिन गंगामाया । भोकै मरेका श्रीमानको अन्त्येष्टी गर्ने परम्परागत हक गंगामायाबाट खोसिनुमा प्रचण्ड संवेदना द्रवित हुनुपर्छ कि पर्दैन ? प्रचण्डले दोस्रो पटक ५०औं वर्षमा बिहे गर्ने सौभाग्य पाए, गंगामायाले पतिको लास जलाउने समय पाइनन् ।

२०७५ बैशाख ८ लेनिन दिवसमा प्रधानमन्त्री ओली भन्दै थिए- ‘ईश्वर छैनन् यदि छन् भने मार्क्सलाई भने हुन्छ ।’ त्यही वर्ष २०७५ कार्तिक १ विजया दशमीको शुभकामना दिने क्रममा ओलीको बोली यस्तो थियो-‘नवदुर्गा माताको आशिर्वाद सरकारलाई भएको हुनाले सरकार कसैले ढाल्न सक्तैन ।’

कत्रो विरोधाभाष यति छोटो समयमा यत्रो पाखण्डीपन र ढोंग ? सरकार वचाउन र बलियो देखाउन नवदुर्गाको शक्तिको सहारा किन लिनु पर्‍यो ? २०७७ असार २९ मा राम जन्मभुमि अयोध्या नेपालको पर्साको ठोरीमा पर्छ भनेर अर्को विवादास्पद कुरा पनि बोलेका छन् । राम मन्दिर बनाउने घोषणा गरेका छन् । यही मंगलबार प्रधानमन्त्री पशुपतिनाथको शरणमा खुलेआम धर्मभिरु भएर जानुभयो । भारतीय अति हिन्दुवादी प्रधानमन्त्री मोदीलाई माथ गर्नेगरि एक घण्टा पशुपतिको पूजा अर्चना गरेर सवालाख दिप प्रज्वलन गर्दै रु ५१ हजार भेटीसहित पशुपतिको शरण पर्नुभयो, माफ माग्नुभयो, कान समाउनुभयो ।

हरेक नेपालीलाई आफ्नो आस्थाको धर्म मान्ने पूजापाठ गर्ने स्वतन्त्रता ओलीले भर्खरै कच्याककुचुक्क पारेको संविधानको खोस्टोमा छ । तसर्थ उहाँको पूजापाठ आश्चर्यको विषय होइन तर कम्युनिष्ट पृष्ठभूमीको प्रधानमन्त्री देशको संविधान अनुसार ईश्वरको नाम लेखेको सपथ बहिष्कार गर्ने तर आफ्नो मनखुशीमा भने चराचर जगतको खुसी र विश्व शान्तिको कामना भन्दै धूपदीपमा लाग्नु लाज लाग्ने विषय होइन र ? किन आफ्नो पूर्वमान्यतालाई तिलान्जली दिएर ईश्वरमा शरणागत हुने अवस्था आइपर्‍यो ? राजनीति भित्रको कुन रणनीतिक चाल र धर्मको कार्ड प्रयोग गर्दै हुनुहुन्छ शंका थुप्रै छन ।

यति छिटो भाग्यवादी भएर हिन्दुत्वको कार्ड फाल्ने स्थिति देशलाई अरु धार्मिक द्वन्द्व र दुर्घटनामा लैजाने नियतवसको चाल मान्ने कि उमेरजन्य परिस्थिति र मनोविज्ञानको उपज ? मन्दिर पस्न, नपस्न पाइन्छ तर मन्दिर भत्काउन पाइदैन । धर्म मान्न नमान्न पाइन्छ तर कसैले आस्था राखेकै कारण होच्याउन पाइन्न । याद गर्नुस तपाईहरुले हामी कम्युनिष्ट भन्दै हिजो के गर्नुभयो अनि आज के गर्दै हुनुहुन्छ ?

नेपालका नेलशन मण्डेला भनेर पुकारिने मोहनचन्द्र अधिकारी गेरु वस्त्र धारण गरेर हिंडेको धेरै समय भएको छैन् । आज कमरेड मोहनचन्द्र हिन्दु धर्म संस्कृतिको चर्को वकालत गरेर नेपाललाई हिन्दु राज्य बनाउने अभियानमा हुनुहुन्छ । कमरेड रवीन्द्र अधिकारीको मृत्युमा क्रियाकर्म गरिएन तर आत्मा भड्किएको र अशान्त महशुश गरेर परिवारले ६ महिनापछि एकजना ब्राम्हण राखेर पुनः रितपूर्वक क्रियाकर्म गर्न लगाइयो । के कम्युनिष्ट ढोंग होइन यो ? हिजो कसले अवरोध गरेको थियो रवीन्द्रको कृया गर्न ? कमरेड माधव नेपाल र कमरेड ओलीले संयुक्त रुपमा क्रिस्चियन धर्मावलम्बी मुन दम्पतीबाट सोल्टी होटलमा होली वाइनले अभिषेक लिएको घटना पनि कम्युनिष्ट  नेताहरुलाई स्मरण गराउनुपर्ने एक चर्चित धार्मिक विवादास्पद काण्ड हो ।

सिद्दान्तलाई चिता चढाएर कम्युनिष्ट आदर्शलाई मुर्छित बनाएर धर्मको जन्ती जाने काम बिभिन्न समयमा थुप्रै कमरेडहरुले गर्नु भएको छ । त्यस्तै उदाहरण हो निवर्तमान मन्त्री योगेश भट्टराईको मन्त्री छोड्नु अघि पाथिभरा मातालाई सोध्दा गलत कदमको पछि नलाग भनेकोले मन्त्री छोडेको हुँ भन्ने उक्ति पनि । सामान्य मान्छे संकटमा ईश्वर सम्झन्छ, पुकार गर्छ, रोइकराई गर्छ, माफी माग्छ यो उसको संस्कारजन्य आस्थाको अभिव्यक्ति र विश्वास हो । तर कहिल्यै ईश्वर छैन, ईश्वरको अस्तित्व नकार गर्ने प्रगतिवादी, मार्क्सवादीहरु धमाधम अनिश्वरवाद त्याग गरेर ईश्वरवादी र  धर्मानुरागी देखिन खोज्नु चै असजिलो दृश्य भित्र पर्छ ।

ईश्वर असत्य भन्नेहरु आज ईश्वरको पाउ पुज्न जानु पक्कै मार्क्सवादीहरुको वैचारिक रुपान्तरण भएर धार्मिक पथको अबलम्बन हो त ? धर्म फजूल ईश्वर अयथार्थ, भ्रम र अदृश्य कुराको पछिलाग्नु समयको नास भन्नेहरु नै आज ईश्वरको अनन्य भक्त र उपासकको भेषमा देखिएका छन् । भक्तिमार्ग किन प्रिय रोजाई कम्युनिष्ट नेताहरुको लागि ? भनाइ र गराइमा अनेकता, सिद्दान्त र आचरणमा, अनि आवरण र अन्तर्यमा विषमता नै आजको समग्र कम्युनिष्ट नेतृत्व लगायतको कमजोरी हो । कम्युनिष्ट नेताहरुको प्राथमिकता अस्पताल बनाउने हुनुपर्छ कि भव्य मन्दिर ? सामाजिक परोपकारी कर्म मन्दिरमा बत्ती बालेर भेटी चढाएर गर्न सकिन्छ कि कुनै मानवीय परोपकारी संस्थालाई आर्थिक भौतिक, नैतिक र नीतिगत सहयोग गरेर गर्न सकिन्छ ? त्यतातिर सोच्ने होइन र ?  



नयाँ