arrow

मान र इमान गुमाएका सुवास नेम्वाङ

logo
संजिव कार्की,
प्रकाशित २०७७ माघ ७ बुधबार
sanjeeb-karki-article1.jpg

सुवासचन्द्र नेम्वाङको नाम लिने बित्तिकै एउटा हँसिलो चेहेरा र मृदु बोलीका साथ ‘माननीय सांसदहरू’ भन्दै सालिनता पूर्वक सम्बोधन गर्दै गरेको एक लिम्बु अनुहार आँखामा नाच्न आउँछ । श्रुतिमधुर कर्णप्रिय आवाज कानमा ठोकिन्छ । कहिल्यै उत्तेजित नहुने संयमित बोली र ब्यवहारका धनी सुवास नेम्वाङ नेपाली राजनीतिक वृतका चर्चित पात्र र प्रवृतिको रुपमा चिनिन्छन् । सुवास नेम्वाङको छवि कुनै एक पार्टी विशेषको भन्दापनि गरिमामय संसदको एक अभिभावक भद्र र शान्त पात्रको रुपमा उल्लेख गरिन्छ । राष्ट्रिय व्यक्तित्व पार्टीभन्दा माथि उठेको गरिमा सुवासको नाम अघिपछि जोडिने फूर्का र थुंगाका सम्मान सूचक विशेषण हुन् । सबैका भरोषाका केन्द्र कानुनका जानिफकार नेम्वाङमा सबै दल र पार्टीको नजर गएको कुरा सर्वबिदितै छ ।

संबिधान सभाको अध्यक्ष र संसद्को सभामुखको रुपमा नेम्वाङ ‘राइट म्यान, राइट प्लेस’को उदाहरण भनेर सर्वत्र भनेको सुनिन्छ । राजनीतिक विश्लेषक र राजनीतिकर्मीहरु सुवासको संसद्को सर्वोच्च पदको उपस्थितिलाई आजसम्मकै सही निर्णयको रुपमा व्याख्या गर्छन् । सुवास र दमन ढुंगानाले संसदीय परम्परा छोटो र प्रारम्भिक चरणको भएपनि सभामुख र संबिधानसभा अध्यक्ष भएर जुन भूमिका निर्वाह गरे त्यो अविस्मरणीय मान्ने मत अत्याधिक छ । सुवास नेम्वाङले संक्रमणकालीन संसदीय अभ्यासलाई जुन सुझबुझ र समझका साथ पालना गरे त्यो निशन्देह ऐतिहासिक छ । भर्खर जंगलबाट आएको माओवादी र परम्पतागत संसदीय अवधारणा बोकेको नेपाली कांग्रेस र आफूलाई लोकतान्त्रिक अभ्यासमा खार्दै गरेको तत्कालिन एमाले अनि केही पुरातनपन्थीको उपस्थिति रहेको संसदमा समन्वयकारी भूमिका खेल्नु एक पार्टी नेताको रुपमा असाध्यै गाह्रो काम थियो । तर सुवासले सबैको ग्राह्य अविभावक बनेर आफ्नो काम फत्ते गरिछाडेको कारण उनको ख्यातीको उचाई चुलिएको हो ।

तत्कालिन माओवादीको उग्रता र जितको बेग आवेगलाई नियन्त्रणमा राखेर संसद सुचारु राख्नु जटिल र दुरुह थियो । संबिधानसभाबाट संबिधान बनाउने काम आफैंमा व्यापक चुनौतिपूर्ण र विश्वकै अनुभवका आधारमा बालुवा पेल्नु जत्तिकै असहज थियो । तर दोस्रोपटक संबिधानसभाको चुनाव गरेर भएपनि सभाध्यक्षको भूमिकामा सुवास खरो उत्रेर नै ब्यवस्थापकीय भूमिका अब्बल राखेर सुवास छोड्न सफल भए । संबिधानसभाले नेपालको संबिधान २०७२ निर्माण गर्न सफल भयो जसको श्रेय संबिधानसभाको मूली हुनुको नाताले सुवासको भागमा नपर्ने कुरै थिएन पर्यो पनि । सुवास नेम्वाङ नामले मात्रै होइन कामले पनि सुवासित बने ।

सालिन भद्र बेदागी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी क्याबिनेट २०५१ का राज्यमन्त्री सुवास मिठो मुखका धनी भनेर प्रशंशित छन् । आवेग, उत्तेजना र भावावेशमा आइरहने पार्टी र तिनका नेताहरुको दाँजोमा सुवासको सालिनता भद्रता र कानुनी बौद्धिकता संधै तारिफयोग्य लाग्छ । कुनै समय नेपाल ल क्याम्पसमा कानुनको रौं चिराबारे विद्यार्थी पढाउने र वकालत गरेर ख्याती पाएका बरिष्ठ अधिबक्ता नेम्वाङ गिनेचुनेका राजनीतिक कानुनका ज्ञाता हुन् ।

अनुभवी परिपक्व र विश्वासिला व्यक्ति भएको कारण पनि गिरिजाप्रसाद ‘सुवास भएपछि संबिधानसभा चल्छ सभाध्यक्षको कारण हाम्रो टाउको दुखाइ हुन्न’ भनेर आफ्ना समकालीनसँग भन्थे रे कांग्रेसजन सुनाउँछन ।

अनुभवी परिपक्व र विश्वासिला व्यक्ति भएको कारण पनि गिरिजाप्रसाद ‘सुवास भएपछि संबिधानसभा चल्छ सभाध्यक्षको कारण हाम्रो टाउको दुखाइ हुन्न’ भनेर आफ्ना समकालीनसँग भन्थे रे कांग्रेसजन सुनाउँछन । यद्यपी, अन्तरिम संबिधान निर्माण २०६४मा धर्मनिरपेक्षताबारे छलफल भएको तर निर्णय नभएको विषयलाई अन्तरिम संबिधानमा धर्म निरपेक्ष्य राष्ट्रको घोषणा सुवासको चल्ख्याईले घुसाएर पढन बाध्य पारेको आरोप यी माथि लाग्ने गरेको छ । आज सुवास माथिको पुरानो लान्छानको विषय होइन ।

नयाँ घटनाक्रम उनको मौनता र भर्खरै आएको प्रष्टीकरणमा उनको इमान डगमगाएको, अडान भत्केको आदर्शमा कालो पोतिएको र ढुलमुले अवसरवादी चरित्र धारण गरेर बोलेको विषयबारे चर्चा सान्दर्भिक छ । नेकपा बिभाजन उन्मुख छ तर बैधानिक बिखण्डनको मान्यता पाएको छैन तर कानुनत फुटेको नदेखिए पनि ब्यबहारले नेकपा दुई चिरामा छ । आ-आफ्नो ढंगले संगठन निर्माण, बिरोध र प्रतिवादमा उत्रेको छ । तसर्थ कानुनको कुरा निर्णय हुँदैजाला । केपी खेमामा सुवास भएपनि करिब करिब एक महिना सुबास गुपचुप नै रहे । नेकपा फुटको दुःखले उनलाई पनि पक्कै दुखायो होला । मुख लुकाउन असहज भएपनि कोरोना कहरले माक्स लाउनुपर्ने बाध्यताले केही सहज चैं भएको हुनुपर्छ ।

अनुहारको पीडा भावभंगिमा देख्न थोरै भएपनि मास्कले रोक्छ, छेक्छ । जब प्रधानमन्त्री ओलीले पार्टी झगडाको रिस संसदमा पोखे, संसद नै विघटन गरेर चुनावमा जाने कदम चाले त्यसपछि संविधानको धारा उपधारामा प्रधानमन्त्रीले संसद विगठन गर्न पाउने अधिकार र नपाउने प्रबन्धबारे व्यापक बहस सिर्जना गर्यो । सर्वोच्च अदालत अहिले संसद वघटनको पक्ष र विपक्षको बहस पैरवीमा घनिभूत रुपमा लागेको छ ।  देशका वरिष्ठ वकिलदेखि कनिष्ट र प्रतिभाशाली वकिल दुई ध्रुवमा विभाजित भएर आफ्नो कानुनको ज्ञान, तर्क सीमा, देश बिदेशका अभ्यास र प्रावधानमा मथिंगल खियाइरहेछन । धुँवादार तर्क र वितर्कले अदालत गरमागरम गराई रहेछन ।

मान्छेहरुले यो बेला सुवास नेम्बाङ्गलाइ मज्जाले सम्झे । उनको कानुनी ज्ञान र हिजोको तर्कलाई सम्झे । तर झन्डै तीन हप्ता चुप रहेका सुवास अन्ततः बोल्न बाध्य भए । अदालतमा गएको मुद्दा भएको कारण अदालतको फैसला अगावै बोल्न मिल्दैन र नैतिक आचरणले दिदैन् भनेको मान्छेले अदालतको फैसला अगावै जे बोले त्यो अनपेक्षित थियो । आफ्नो पूर्वमान्यता र अडान विपरित थियो । आफ्नै हिजोको रेकर्डेड धारणालाई खिज्याउने, उल्याउने र आफ्नो इमान धुलिसाथ पार्ने थियो । जुन सुवास नेम्बाङ्गप्रति आम मान्छेको धारणा र दृष्टिकोण प्रतिकुल थियो ।

बरु म चुप रहन्छु भन्दा तर्क गर्न सकिन्थ्यो पूर्व सभामुख र संबिधानसभाको मुली हुनुको नाताले । आचार संहिता उलंघन गर्न नमिल्ने बाध्यता होला भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो । तर मौनता तोड्दा सुवासले जे बोले त्यो स्वार्थमा बोले । आफ्नो समूहको हितका खातिर बोले । देश समाज र कानुन नैतिकता र नीति अनि आफ्नो गर्विलो पहिचान र जनजनले दिएको सम्मानको अपमान गर्दै बोले । नैतिकता र मूल्यको मानक भत्काए स्वार्थ र आफ्नो हितको लागि बेइमानीको पर्खाल निर्माण गरे । जुन उनको व्यक्तित्व राजनीतिक हैसियत र पूर्व विशिष्ट पधाधिकारी र भावी देशको कार्यकारी प्रमुख हुने हैसियतलाई नसुहाउने काम गरे ।

देशले गणना गरेको नेताको दृष्टिकोण पिपलपाते र बतासे बन्छ भने सामान्य नागरिकको अवस्था र मनोविज्ञान कस्तो होला ?

सुवास नेम्बाङ्गकै भनाइ र धारणा अन्तिम फैसलाको लागि काफि होइन। उनले बोलेपछि मात्रै फैसला बन्ने पनि होइन । तथापी एक विशिष्ट व्यक्ति संसदको गरिमा, नेकपाको नेतामा आएको विचलन र सैद्दान्तिक अवसानले आम मान्छेले राजनीतिज्ञलाई हेर्ने नजर मूल्यांकन गर्ने तरिकामा फेरि पनि र्‍हास आयो । नेताहरु नैतिक हुन्नन, इमान, जमान कायम राख्दैनन् , बोली र अडानमा टिक्न सक्तैनन् । तसर्थ यी विश्वासिला चिज होइनन भन्ने धारणा अरु मजबूत र फराकिलो बन्ने मौका मिल्यो । देशले गणना गरेको नेताको दृष्टिकोण पिपलपाते र बतासे बन्छ भने सामान्य नागरिकको अवस्था र मनोविज्ञान कस्तो होला? एक राष्ट्रिय व्यक्तित्व राष्ट्रिय सभाको संसद प्रतिनिधि सभामा दुई पटक निर्वाचित सदस्य, राज्यमन्त्री हुँदै क्याबिनेट मन्त्री भएको व्यक्ति, प्रतिनिधि सभाको सभामुख र संबवधान सभाको अध्यक्ष भएको मान्छे, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित, सबैले विश्वास गर्ने पाको र परिपक्व राजनीतिज्ञ बौद्दिक बर्ग र समाजले पत्याएको व्यक्तित्व आज देश संकटग्रस्त भएको बेला आफ्नो पोजिसनमा रहन नसक्नु निश्चय नै दुर्भाग्यपूर्ण स्थिति हो ।

काभ्रेको धुलिखेलमा खिचिएको भनिएको एउटा भिडियोमा उनले भनेका छन्, प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद् विघटन हुँदैन । चुनाव ठ्याक्कै पाँच वर्षमा नै हुन्छ ।’ नेम्वाङ्ले उक्त भिडियोमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी हरेक दिन संसद् जाने गरेको स्मरण गर्दै संसदप्रति सरकारको दायित्वबारे पनि स्मरण गराउँदै भनेका छन्– ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी हरेक दिन संसद्मा जानुहुन्थ्यो । उहाँ हरेक दिन संसद्मा पुगेर कुरा सुन्नुहुन्थ्यो। एक डेढघण्टा संसदमा ढ्यापढ्याप गरेर कांग्रेस सांसद बोल्थे। यो कांग्रेसको आविष्कार हो भन्थे ।’ तर पुरानो भिडियोमा उनले जे बोले त्यो आज असान्दर्भिक र त्यतिबेलाको परिस्थति अर्कै थियो भनेर आज आफ्नो अडानबाट ब्याक हुने जुन कुरा र तर्क गरेका छन् त्यो उनको आजसम्मको ख्यातीमा सल्काएको आगो हो ।

पांच बर्षे जनमत समाप्त हुनुअघि असमयमा चुनाव गर्नुपर्ने बाध्यता पछाडि सुबास नेम्वाङको तर्क र ढिपी संविधानको मर्म होकी मर्ममा प्रहार ? आफ्नो सग्लो र अग्लो व्यक्तित्व पुर्न खनेको खाल्डो हो । किन आफैंलाई पुर्ने खाल्डो खन्न बाध्य भए नेम्बाङ्ग ? सत्तालिप्सा र कार्यकारी प्रधानमन्त्री हुने अतृप्त रहको भोक प्यास तिर्खा र बैंस चढेर सुवासले जसरी बोली फेरे त्यसरी नै आम नेपालीले उनी माथिको विश्वास श्रद्दा र अपनत्व फेर्नेछन । देशले गर्व गर्ने सन्तति निर्माण गरेको आफ्नो नैतिक लगानी र त्याग फिर्ता माग्नेछ । चुचुरोमा पुर्याएको मान्छे भुईको धुलो हिलोमा पछारिन लागेको दृश्यले नेपाल आमाको मन दुखेको छ, नमिठो गरेर ।

सुवासचन्द्र नेम्बाङ्गसँग कार्यकारी प्रधानमन्त्री बन्ने सपना त होला तर जनताको नजरमा रहेको मान र इमान चैं गुम्यो । जनताको मत लिएर कार्यकारी हुने कि केपी ओलीको ‘बुई चढेर’ असंबैधानिक हर्कत गरेर विषम परिस्थिति खडा गरि प्रधानमन्त्री हुने नेम्बाङ ज्यु ?  तपाइँले आजसम्म पढ्नु भएको कानुन, पढाउनु भएको नैतिकता र इमानको किताब धुजा-धुजा पारेर सत्ता र शक्तिको लालसा पाल्न थोरै भएपनि लजाउनु पर्ने हो नेम्वाङ कमरेड ?  वि.स. १९७७ असार २५ गते अन्त्य भएको सतीप्रथा नयाँ रुप र आवरणमा गणतन्त्र कालमा मार्क्सवादी सौन्दर्यचेत बोकेका नायकहरुले पुनरोदय गराए । महिला मुक्ति र महिला आन्दोलनले यो दिनलाई मानव सभ्यतामा कालो दिनको रूपमा चित्रण गर्नेछन् । डाक्टर शिवमाया तुम्बाहाम्फेलाई सुवास नेम्वाङसहित भएर जबर्जस्ती आजकै दिन एक वर्ष अघि ‘सती जान’ बाध्य पारिएको थियो भने अहिले सुवास आफैं पनि राजनीतिक सती गएर सती प्रथा पुरुषले पनि धान्न सक्छन् भन्ने समताको उदाहरण प्रस्तुत गरे । प्रधानमन्त्रीको सनकमा संसद विघटन गर्न नपाउने कुरा हिजो बोलिएको हो त्यो आज होइन । र विशेषतः ओलीका लागि होइन भनेर राजनीतिक सती जाने आफ्नो इमान पोल्ने जुन काम गरे त्यो शर्मानक बहादुरी हो ।



नयाँ