arrow

क्रिकेट आयोजनाका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई दिने भयो ५० लाख

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
CAN-KTM-Metro.jpg

काठमाडौं। मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौं महानगरपालिका बिच आज सम्झौता भएको छ ।मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौं महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सहमतिअनुसार क्यानले उक्त प्रतियोगिता आगामी चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कति टोलीलाई सहभागी गराउने भन्ने विषयमा क्यानले छलफलपछि टुङ्गो लगाउने छ । 

महानगरपालिकाले पहिलो चरणमा ६० प्रतिशत तथा दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ । सम्झौतापछि क्यान अध्यक्ष चन्दले काठमाडौं महानगरपालिकासितको सम्झौतापछि प्रतियोगिता गराउन आफू उत्साहित भएको बताए । नेपालको क्रिकेटमा काठमाडौं महानगरपालिकाले ठुलो गुन लगाएको उल्लेख गर्दै उनले देशभरका अन्य स्थानीय तहलाई पनि नेपालको क्रिकेटको विकासका लागि सहयोग गर्न आग्रह गरे । 

महानगरका प्रमुख शाक्यले विगतमा नेपालको फुटबलको विकासका लागि विभिन्न क्लबलाई सहयोग गरेको उल्लेख गर्दै नेपालको क्रिकेटलाई अघि बढाउन क्यानसँग सहकार्य गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ