arrow

प्रचण्ड–नेपाल समूहका नेता एवं सर्लाही ईन्चार्ज वाग्लेको मृत्यु, घटना रहस्यमय

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
dacharaj-wagle-ncp.jpg

मूर्तिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राति ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार प्रहरी घटनास्थल पुगेको थियो । 

प्रहरीका अनुसार वाग्ले ज १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले वाग्लेको मृत्यु भइसकेको बताएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिए । 

प्रनाउ भाटका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा वाग्लेको टाउकोमा हेल्मेट र आँखामा चश्मा थियो । ‘आँखाको छेउमा निलडाम जस्तो देखिएको थियो, अन्य ठूलो चोटपटक देखिएको थिएन, चोटपटक हेर्ने भन्दा पनि हतार हतार एम्बुलेन्समा राखेर उपचारका लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रतर्फ पठाईयो’, प्रनाउ भाटले भने,  ‘चिकित्सकले मृत्यु भइसकेको बताउनुभयो, घटनास्थलको अवस्था हेर्दा आफैं लडेको हो वा कुनै जनावरसँग ठोक्किएर लडेको हो जस्तो देखिन्छ, अर्को ठूलो सवारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन, तथापि अहिले म घटनास्थलमै छु, दुर्घटनाबारे गम्भीर एवं सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ ।’

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए । पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्ले मोटरसाईकल दुर्घटनामा परेका हुन् । वाग्ले संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सकृय थिए ।

अहिले घटनास्थल सहित बरहथवातर्फ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर लगायत सुरक्षा अधिकारी जाँदै छन् । त्यस्तै खबर सुन्ने बितिकै नेकपाका नेता कार्यकर्ताहरु पनि बरहथवामा जम्मा भएका छन् ।

वाग्ले हरिपुर नगरपालिका–१, हजारबिगाह निवासी हुन् ।

यता नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको निधन रहस्यमय भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेका छन्, ‘हाम्रो पार्टीको केन्द्रीय सदस्य क. डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ।अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योध्दाको निधनबाट पार्टी र आन्दोलनमा ठुलो क्षति भएको छ। श्रध्दाञ्जली कमरेड ! बहिनी सरस्वती,परिवारका सवै सदस्यहरु र असहनीय पीडामा रहनुभएका सवैलाइ समवेदना।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ