arrow

अनुदानका खोप आउन थाले, तत्काल किन्ने 'मुड'मा छैन सरकार

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं । नेपालमा आजसम्म एक लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो । प्रत्येक व्यक्तिलाई दुई डोज खोप दिइने र केही खोप खेर जाने हुँदा सरकारले सो खोप करिब चार लाखलाई लगाउने तयारी गरेको छ ।

त्यस्तै, ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) अन्तर्गतको खोप अभियान कोभ्याक्स अन्तर्गतबाट पनि फागुन महिनामा नेपालमा २२ लाख ५६ हजार डोज खोप आउने भएको छ । 

यो खोप करिब ८ लाख मानिसलाई लगाउन मिल्ने छ । फ्रन्टलाइनमा खटिएकासँगै ज्येष्ठ नागरिक, अन्य दीर्घ रोगी, प्रवासी कामदारलगायतलाई यो खोपको प्राथमिकतामा राखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यस विषयमा स्वास्थ्य मन्त्रालय र कोभ्याक्सबीच सम्पर्क भइरहेको बताएका छन् । खोप आएपछि लगाउने तयारी रहेको उनले बताएका छन् ।

नेपालमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी खोप उपलब्ध गराउने कोभ्याक्सको प्रतिबद्धता छ । सोही अनुसार अहिले करिब ३.३ प्रतिशत खोप उपलब्ध गराएको हो ।

बाँकी खोप चरणबद्ध तरिकाले उपलब्ध हुने कोभ्याक्सले जनाएको छ । अनुदान एवं विभिन्न अभियानमार्फत नेपालमा खोप आउन थाले पनि सरकारले खरिद प्रक्रिया भने अघि बढाएको छैन ।

आफैले पहल चालेर खोप खरिद गर्नका लागि अहिलेसम्म प्रक्रियामा नै रहेको सरकारको भनाइ छ । 

विभिन्न देशबाट आउने अनुदान एवं देश विदेशका सङ्घ संस्थाबाट आउने अनुदानका खोप लगाइसकेपछि आफूले खरिद गरेर लगाउने सङ्केत सरकारले गरेको छ ।

उसाे त, सरकारले यसअघि खोप खरिदका लागि योगदान गर्न भन्दै विज्ञप्ति नै निकालेको थियो । 

नेपालमा फ्रन्टलाइन कर्मचारी, दीर्घ रोगी एवं अन्य शारीरिक अस्वस्थता रहेका मानिसहरूलाई सरकारले जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु पर्ने भए पनि अहिलेसम्म अनुदानकै खोपहरू पर्खिरहेको देखिन्छ ।



नयाँ