arrow

ज्वालानरसिंह मन्दिर जीर्णोद्धार : ४७ थरीका नयाँ इँटा बनाइने

logo
सुभानु आचार्य,
प्रकाशित २०७७ माघ २५ आइतबार
patan-durbar-square.jpg

ललितपुर । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धार अघि बढाउन ४७ थरीका नयाँ इँटा बनाइने भएको छ । यी प्रकारका इँटा मन्दिर जीर्णोद्धारमा पुनः प्रयोग गर्न नमिल्ने भएसँगै नयाँ बनाउन लागिएको हो ।

मन्दिरको बुर्जा भत्काउनुपूर्व हालसम्म कूल १०८ थरीका इँटा भेटियो । तीमध्ये ४७ थरीका नयाँ इँटा बनाउनुपर्ने भएकाले एक–एक नमूना झिकी बनाउन दिइएको साइट इञ्जिनीयर प्रणाम होराले बताए । उनले भने, “यी इँटा घरायसी प्रयोजनमा प्रयोग गर्नेभन्दा भिन्न र सानो हुने भएकाले इँटा बनाउनका लागि नयाँ साँचो नै बनाउनुपर्छ । मन्दिरका बुर्जा भत्काउँदै जाँदा अझ कति थरीका इँटा बनाउनुपर्ने हो त्यो पछि नै थाहा हुन्छ ।”

बुर्जामुनिको बिम लेभल भत्काउँदा अहिले यति प्रकारका नयाँ बनाउनुपर्ने देखिएको हो । जीर्ण भएका सबैै भाग भत्काउँदै जाँदा अझ एक तिहाइ नयाँ बनाउनुपर्ने अनुमान गरिएको होराले जानकारी दिए । “मन्दिरको चार कुना भत्काउनुपर्ने र एउटा कुनामा तीन थरीको इँटा रहेकाले बाहिरपट्टि बिम लेभलको २५ प्रतिशत इँटा पुनः प्रयोग गर्न मिल्दैन”, उनले थपे, “मन्दिरमा प्रयोग भएका इँटा कुनैमा सिंह, कुनैमा नाग, कुनैमा फूलको गुच्छा आदि विभिन्न प्रकारका आकृति रहँदा त्यस्तै बनाएर प्रयोग गर्नुपर्छ ।”

विगतमा मन्दिरमा प्रयोग भएका ढुङ्गा, काठ आदि पुनः प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने भत्काएपछि मात्र जानकारी लिन सकिने मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए । उनले भने, “मन्दिर वरिपरि फलामको बार लगाउने काम सकियो । हामीले पुरातत्व विभागसँग समन्वय गरी मुचुल्का बनाएर पुराना इँटा झिकी नयाँ बनाउन नमूना पठायौँ ।” सो मन्दिर निर्माण गर्न महानगरपालिकाले रु २० लाख दिएको प्रधानले जानकारी दिए ।

सोमबारदेखि मन्दिरमा स्काफोल्डिङको काम अघि बढाएर बुर्जाको भाग भत्काएर तल झार्ने र दुईदेखि तीन महिनामा नयाँ इँटा तयार भएर आएपछि मन्दिर बनाउन थालिने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले बताए । उनले भने, “मन्दिरलाई बाहिरबाट सरसर्ती हेर्दा हालसम्म बीच भाग मात्र प्रबलीकरण गर्नुपर्ने देखिन्छ । मन्दिर जीर्णाेद्धार शुरु गरिएको १० देखि १२ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न गर्नेछाँै ।”

नरसिंह मन्दिरको इँटा झिक्नु केही दिनअघि चिह्न लगाइएको थियो । मन्दिर भत्काउन तीन महिनापछि मात्र उत्तम साइत भएकाले गत पुस २९ गते क्षमापूजा गरिसकेको बताइएको छ । ज्वाला नरसिंह मन्दिर शिखरशैलीमा उपभोक्ता समितिमार्फत बन्नेछ । सो मन्दिर बनाउन केभिपिटीको प्राविधिक सहयोग रहनेछ ।

भगवान् विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, बराह अनि नृसिंह अवतार धारण गर्नुभएको कुरा विष्णुपुराणमा आधारित छ । सो नरसिंह मन्दिरको महिमा हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कुष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृसिंह नृत्य मञ्चन गरी प्रदर्शन गर्ने गरिन्छ ।

ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको नृसिंह नाट्य महोत्सवमा कथामार्फत अत्याचारी दानव हिरण्यकशिपुको बध गरी जनतालाई सत्कर्मको पालना गर्नुपर्ने सन्देश छर्ने गरिन्छ । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा विसं १६९७ मा पाटनका राजा सिद्धिनसिंह मल्लले देश र जनताको कल्याणार्थ नृसिंहका साथै अन्य २६ नृत्यसमेत चलाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ