arrow

ओली सरकारले सेटिङ गरेर संसद् पुनर्स्थापना टार्न खोज्यो : सिटौला

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
krishna-sitoula1.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी प्रतिगमन कार्य विरुद्ध नेपाली काँग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध सभा सम्पन्न गरेको छ । ओली सरकारले पुस ५ गतेको प्रतिगमनकारी कदम विरुद्ध काँग्रेसको तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत सोमबार झापाको चन्द्रगढीमा जिल्ला स्तरीय विरोध सभा गरिएको हो ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले ओली सरकारले सेटिङ गरेर संसद् पुनर्स्थापना टार्न खोजेको आरोप लगाए । सोमबार झापाको चन्द्रगढीमा आयोजित जिल्ला स्तरीय विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले सरकारदेखि अदालतसम्म सेटिङ मिलाएर संसद् पुनर्स्थापना हुन नदिने षड्यन्त्र गरिरहेको दाबी गरे ।

साथै डर र त्रासमा नपरी स्वतन्त्र र निष्पक्ष ढङ्गबाट संसद् पुनर्स्थापनाको पक्षमा फैसला गर्न अदालतलाई आग्रह गरे । सम्मानित अदालत ३ करोड नेपाली जनताको अन्तिम भरोसाको केन्द्र भएकोले जनताले अदालतलाई नियालिरहेकोले जनताको पक्षमा फैसला गर्न अनुरोध समेत गरे ।

 संविधान मस्यौदा समितिका संयोजक समेत रहेका सिटौलाले वर्तमान संविधानको कुनै धारा र उपधारामा संसद् विघटनको अधिकारको प्रावधान प्रधानमन्त्रीलाई नरहेको प्रस्ट पार्दै संविधानका धाराहरूको सही व्याख्या गरेर अदालतले फैसला गर्नेमा काँग्रेस विश्वस्त रहेको बताए ।

सिटौलाले ओलीलाई घरको झगडा मिलाउन नसक्नेले रिसको आवेगमा आएर सार्वजनिक ठाउँमा आगो लगाएको जिकिर गरेका थिए । आफ्नो घर मिलाउन नसक्नेले छिमेकीलाई पिरोलेकोले छिमेकीलाई पिरोल्दा के हुन्छ त्यसको परिणाम भोग्न ओलीलाई तयार रहन सचेत समेत गराए ।

झुटको राजनीति गरेर कम्युनिस्टहरू सत्तामा पुगेको चर्चा गर्दै,'अझै कति जनतालाई ढाँट्नुहुन्छ प्रधानमन्त्री जी ? अब त मति र बुद्धि सपार्नुहोस् ।' सिटौलाले भने।

नेता सिटौलाले ओली सरकारले संसद् विघटन गरेको यो घटना सामान्य नभएको बताउँदै यसको दुष्परिणाम भयानक हुने चेतावनी दिए । उनले प्रधानमन्त्रीलाई ख्याल ठट्टा र हाँसोको भाषण गरेर जनतालाई नभुल्याउन चेतावनी दिँदै गल्ती आफ्नो स्वीकार गरी तत्काल संसद् पुनर्स्थापना गर्न आग्रह गरे ।

जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा भएको विरोध सभालाई काँग्रेसका केन्द्रीय सदस्य भारतेन्द कुमार मल्लिक , दिलीप राई, सुधीर कुमार सिवाकोटी, क्षेत्रीय सभापति गणेश पोख्रेल , जिल्ला सचिव प्रेम सम्वाहम्फे , ताराबिर कटुवाल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा जिल्लाका सम्पूर्ण पालिकाहरूबाट हजारौँको सङ्ख्यामा कार्यकर्ता हरू सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ