arrow

माधव नारायणका वर्तालुले गरे पनौतीमा पूजा आराधना

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
madhavnarayan.jpg

काठमाडौँ । पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालु माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौतीमा राखेर पूजा आराधना गरेका छन् ।

प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शंखरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीन कालदेखिको परम्परा छ । आइतबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती पुगेका थिए । वर्तालुले आज बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि माधवनारायणलाई विशेष पूजा आराधना गरेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक शहर पनौती परिक्रमा गरिएको थियो । माघशुक्ल चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिएको छ । भोजनपछि वर्तालु साँखुस्थित शालीनदीतिर लागेका छन् । बेलुकीसम्म शालीनदी पुग्ने जनाइएको छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका वर्तालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिए ।

 विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।  

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमाजस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शंखरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

शनिबार र सार्वजनिक बिदा परेका दिन शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शालीनदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएरमात्र मन्दिर प्रवेश गराइन्छ ।

 मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शालीनदीमा एक महिने माधवनारयण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवा लगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ