arrow

अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स मङ्गल ग्रहमा अवतरण

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
mangal-graha-nasa.jpg

काठमाडौं । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले लेखेको छ । 

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरुले हर्षोल्लास मनाएका थिए । ‘हामीले गर्‍यौँ। हामी त्यहाँ पुग्यौँ’ उनीहरु खुशी हुँदै चिच्याइरहेका थिए । त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो ।

सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ–छैन भनेर हेरिने छ ।

उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्नेछ । यदि उचित वातवारण पाए जीवन ब्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ । 

यो सन् १९७०को दशकको भाइकिङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।

छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो । मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।



नयाँ