arrow

समातिएको एक किलो बढी सुन सार्वजनिक नगरेपछि प्रहरीमाथि शङ्का

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
gold-pure2.jpeg

डोटी ।  जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन । कुल एक किलो १०० ग्राम पक्राउ गरेको कम्तीमा पनि एक महिना बित्नै लाग्दासमेत सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीको नियतमाथि शङ्का गर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउसमेत गरेको थियो । पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिले सम्म पनि कुनै सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीप्रति सशङ्कित हुन थालेको सिलगढीका स्थानीय भरत नेपालीले बताए ।

उता प्रहरीले सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआइसिंह गाउँपालिका–६ भिताणीकी ६० वर्षिया काली भुललाई पक्राउ गरेको थियो । प्रहरीले काली र उनका भतिजालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, “प्रहरीले सुन र संलग्न अन्य व्यक्ति खोजी रहेको छ ।” जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टरमार्फत आफूलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको दाबी गरे ।

उनले भने, “हेडक्वार्टरमार्फत पक्राउका लागि खबर आएपछि हामीले पक्राउ गरेका हौँ, अन्य केही खबर आएको छैन, केन्द्रमा अनुसन्धान भइरहेको होला ।”



नयाँ