arrow

फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

१०० डलरमा गुगललाई ४९ र फेसबुकलाई २४ डलर

logo
रासस-एएफपी
प्रकाशित २०७७ फागुन ११ मंगलबार
google-facebook.jpg

सिड्नी। प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली सञ्चार माध्यमको दबाबमा सरकारले फेसबुक र गुगलमा अस्ट्रेलियाली सञ्चार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो । 

फेसबुकले सञ्चार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु सञ्चार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।अस्ट्रेलिया सरकारले सञ्चार माध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।

अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्त्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।

फेसबुकले अस्ट्रेलियाली सञ्चार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो । 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए । अस्ट्रेलियाको संसद्ले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गुगलले स्थानीय सञ्चार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ । 

साथै गुगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुवै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए । 

एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरूले विज्ञापन बापत १०० डलर खर्च गरे गुगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ