arrow

फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालका लागि भारतले ल्यायो कडा नियम

सुरुमा पोस्ट गर्ने व्यक्ति पत्ता लगाउने र आपत्तिजनक कन्टेन्ट २४ घण्टामा हटाउनुपर्ने

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
facebook-twitter.png

काठमाडौँ । भारतले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालहरूमाथि लागु हुने गरी कडा कानुन ल्याउने भएको छ । बिहीबार सूचना तथा प्रविधि मन्त्री रवि शङ्कर प्रसादले कुनै पनि संवेदनशील कन्टेन्टलाई कम्पनीहरूले २४ घण्टाभित्र हटाइसक्नु पर्ने र १५ दिनभित्र समाधान गरिसक्नु पर्ने बताएका छन् ।

बलात्कार एवं आपराधिक घटनाहरूसँग सम्बन्धित सामाग्रीहरूलाई २४ घण्टाभित्र हटाइसक्नु पर्ने छ । गुनासो सङ्कलनका लागि एक अधिकारी पनि खटाउनु पर्ने र भारतमै कार्यालय पनि स्थापना गर्नुपर्ने छ ।

यसबाहेक आपत्तिजनक कन्टेन्ट सुरुमा पोस्ट कसले गरेको हो भन्ने कुरा पनि कम्पनीहरूले पत्ता लगाउनु पर्ने छ । उनले भनेका छन्, गलत र आपत्तिजनक कन्टेन्ट स्वरुम बनाएर अपलोड गर्ने व्यक्ति हो भनेर भन्न कम्पनीहरू सक्षम हुनुपर्नेछ ।

यस्तै कम्पनीहरूले प्रत्येक महिनामा कति वटा गुनासो  अथवा उजुरी पायो र कति विरुद्ध कस्तो एक्सन लियो भनेर रिपोर्ट समेत बुझाउनु पर्नेछ । सन् २०११ को कानुन संशोधन गर्दै अघि सारिएका यी नियम साना कम्पनी एवं सामाजिक सञ्जालका हकमा तत्काल लागु हुनेछ भने ठुला कम्पनीहरूलाई तीन महिना समय दिइने छ ।

भारत विश्वकै सबैभन्दा ठुलो इन्टरनेट सञ्जाल हो,  सरकारले सामाजिक सञ्जालका कम्पनीहरूलाई स्वागत गर्छ र उनीहरूले यहाँबाट पैसा पनि कमाउँछन्, तर कानुनको पालना गर्न जरुरी उनले भनेका छन् ।

भारतमा मात्रै ह्वाट्सएपमा ५३ करोड, युट्युबका ४४ करोड, फेसबुकका ४२ करोड, इन्स्टाग्रामका २१ करोड र ट्विटरका २७ करोड प्रयोगकर्ता रहेको समेत उनले बताएका छन् । सामाजिक सञ्जालका कम्पनीहरूका लागि भारत नै विश्वको सबैभन्दा ठुलो बजार हो ।

तर, अनियन्त्रित एवं पछिल्लो समय गलत र आपत्तिजनक कन्टेन्ट बढ्दै जाँदा यसले मानिसहरूको जीवनलाई चुनौतीपूर्ण बनाउँदै गएको छ । यस कारण भारत सरकारले अघि सारेको नियमहरू कम्पनीहरूले पालना गर्नै पर्ने देखिन्छ ।



नयाँ