arrow

पशुपतिका चार मुहार : द्वारका, वद्री नारायण, जगन्नाथ र रामेश्वर

श्री पशुपतिनाथमा महाशिवरात्रि (भाग २)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ फागुन २० बिहिबार
pashupatinath1.jpg

गौरीघाट । श्री पशुपतिनाथको ज्योतिर्लिङ्ग उत्पत्तिका बारेमा हिमवतखण्ड लगायत पुराणहरूमा वर्णन गरिएको छ । छोटो चर्चा गरौँ, एक पटक ब्रह्मा र विष्णुका बिचमा को ठुलो भन्ने चर्चा भयो । श्री महादेवले प्रकट भएर   यो शिव लिङ्गको टुप्पो र फेद पत्ता लगाऊ अनि को ठुलो हुन्छ भन्ने निक्यौल हुन्छ भन्ने आशयको आकाशवाणी भयो । ब्रह्मा टुप्पो पत्ता लगाउन गए भने विष्णु फेद पत्ता लगाउन पाताल तिर गए । पातालमा उनले शेष नागलाई भेटे र उनको सल्लाह माने । किनभने यसको फेद पत्ता लगाउन सम्भव थिएन र विष्णु फर्केर आए । ब्रह्माले पनि सकेनन् तर उनले बहाना बनाएर आफूले भेट गरेका कामधेनु गाई, जपा कुसुम तथा केतुकीलाई साक्षी राखे ।

शिवजीले थाहा पाइ हाल्नुभयो र अव तिम्रो १ शिर हट्छ भनेर ब्रह्मालाई सजाय दिनुभयो भने केतुकी र जपा कुसुमलाई  अहिलेसम्म तिमीहरू मेरा प्यारा थियौ अव तिमीहरू मेरो प्यारा हुने छैनौ र तिमीहरू अव ममा चढिने पुष्पमा पर्दैनौ भनेर श्राप दिनुभयो । त्यसै गरी कामधेनुलाई पनि अव देखि तिम्रो मुख बिटुलो हुनेछ भन्ने श्राप दिनुभयो । जुन श्राप अहिलेसम्म पनि हाम्रो समाजमा लागू भइरहेको पाइन्छ । गाईको दूध पूजा आजामा चढाइन्छ, गोवर, गहुँत आदि अपवित्र वस्तुलाई पवित्र बनाउन प्रयोग गरिन्छ ।

शिवजीको श्राप पछि ब्रह्मा र विष्णुले उहाँको स्तुति गरे । स्तुतिबाट प्रसन्न भएर श्री शिवले उनीहरूलाई अव सृष्टि र स्थिति गर भनेर काम बाँडिदिनुभयो र आफू श्लेषमान्तक वनमा बस्छु भनेर अन्तर्धान हुनुभयो ।

हामी निकट भविष्यमा नै नेपालमा महाशिवरात्रि पर्व मनाउन गइरहेका छौँ । यस पर्वका लागि नेपाल तथा भारतका विभिन्न स्थलहरूबाट दर्शनार्थी आउँदछन् । श्री शिवपुरी बाबा पनि यस दिनको महत्त्वको वर्णन गर्दै यस दिन शिवजी कुनै न कुनै रूपमा मन्दिर प्रवेश गर्नुहुन्छ र श्रद्धालुहरूले आशीर्वाद पाउने हुनाले शिवलिंग दर्शन गर्न नसके पनि प्राङ्गण या मन्दिरको मात्र दर्शन छुटाउनु हुन्न भनेर भक्तहरूलाई उपदेश दिनु हुन्थ्यो । यसरी लाइनमा बस्नेहरू कोही हर हर महादेव, कोही ओम नमः शिवाय, आदि जप गर्दै बस्छन् ।

परम्परा अनुसार आर्य तीर्थमा नुहाएर त्यहाँ बगेकी पवित्र वाग्मतीबाट एक लोटा जल लिएर शिवलिंगमा चढाउनु पर्ने चलन थियो । तर अहिले आएर वाग्मतीको जलमा हात डुबाउन पनि घिन मान्नु पर्ने स्थिति आएको छ ।

साथै श्री पशुपतिनाथको स्नानका लागि दक्षिणतिर खनिएको इनारबाट जल निकालेर स्नान गराउन सुरु गरिएको छ । श्री पशुपतिनाथको लिङ्गलाई ब्रह्मा, विष्णु, महेश्वरको रूपमा मूर्तिको तल्लो भागमा ब्रह्मा, मध्यम भागमा विष्णु तथा माथिल्लो भागमा महेश्वरको रूपमा पुजिन्छ । शिव लिंगको दर्शन गर्दा जलहरीमा शालिग्राम शीलाको पनि दर्शन पाइन्छ ।

महाशिवरात्रिको दिनमा श्री पशुपतिनाथमा ४ प्रहरको पूजा हुन्छ । श्री पशुपतिनाथको मन्दिरको परिक्रमामा वासुकी मन्दिरको दर्शन गर्नुपर्ने परम्परा छ र पशुपतिनाथको पूजा, दर्शन गर्दा श्री वासुकीको पनि पूजा गर्नुपर्दछ ।

श्री पशुपतिनाथको पूर्वी भागमा रहेको श्लेष्मान्तक वनलाई शिव पार्वतीको कृडास्थल मानिएको हुँदा पीठ क्षेत्र मध्ये उत्तम पीठको रूपमा पनि मानिन्छ र वरपरका क्षेत्रलाई शिव माहेश्वरी पुरी भनिन्छ ।

श्री पशुपति शिवलिंगमा हामी ४ मुहारको दर्शन गर्न सक्छौँ । सद्योत्जात, पूर्वी मुहार, अघोर, दक्षिण मुहार मानिन्छ  भने वामदेव उत्तर तथा तत्पुरुष पश्चिम मुहार मानिन्छ । वामदेवको दर्शन गर्दा उषाकालीन सूर्य जस्तो लालकिरण सम्झेर, सद्योजातको दर्शन गर्दा रातो र नीलो वर्ण (अग्नि) को जस्तो, तत्पुरुषको दर्शन गर्दा सायम्कालीन सूर्य जस्तो नीलवर्ण, अघोरको दर्शन गर्दा वर्षा, बादल युक्त अग्निको तथा ईशानको दर्शन गर्दा मध्यकालिक सूर्य जस्तै तेजोमय रूप पनि मानिन्छ ।

धेरै जसो श्रद्धालुहरू हामी ४ धाम दर्शन गर्न नगए पनि हुन्छ भन्दछन् किनभने श्री पशुपतिको ४ मुहारको दर्शन नै ४ धाम हो । पश्चिम मुहारलाई द्वारका, उत्तर मुहारलाई श्रीवद्री नारायण, पूर्व मुहारलाई जगन्नाथ तथा दक्षिण मुहारलाई श्री रामेश्वरको प्रतीक मानेर दर्शन गर्नाले उत्तिकै फल पाइन्छ भन्ने जन विश्वास रहेको पाइन्छ ।

शिवलिंगको उध्र्व मुहारको दर्शन गर्न नसकिने हुँदा पश्चिम मुहारलाई नै दर्शन गर्ने चलन पनि छ । फलामे वस्तु यस शिवलिंगमा छुवाउनाले त्यो सुन बन्न जान्छ भनेर कसै कसैले श्री पशुपतिनाथलाई पारस नाथ पनि भन्दछन् । श्रद्धाले आराधना गरेमा श्रीमहादव चाँडै नै खुसी हुनुहुन्छ । त्यसैले उहाँलाई आशुतोष नामले पनि पुकारिन्छ ।

वर्तमान समयमा वाग्मतीमा बगेको जल तथा श्लेषमान्तक वनको दुर्दशा देख्दा पुराणहरूमा वर्णित प्रसङ्गहरू ओझेलमा परेका छन् भन्नु अत्युक्ति नहोला ।   

अन्तमा,
 मंगलम् भगवान् शम्भो, मंगलम् वृषभध्वज ।
 मंगलम् पार्वती नाथ, मंगलाय तनो हरे ।।
(अस्तु)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ