arrow

महाशिवरात्रि :

पशुपति दर्शन गर्न तीन स्थानबाट लाइन बस्न सकिने

१० हजार सुरक्षाकर्मी परिचालन गरिने

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
shivaratri-pashupati.jpg

काठमाडौँ ।  यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।   

 अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

 कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइमार्गबाट आउने भक्तजन र साधुसन्त मात्र आउनेछन् । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने जनाइएको छ ।  करिब तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् मंगलवारैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नु पर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।
 
पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने सदस्य सचिव ढकालले बताए ।
 
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन । मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ । विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।

कोषले महाशिवरात्रि पर्व-२०७७ भव्य रुपमा सम्पन्न गर्न ११ वटा विभिन्न उपसमिति गठन गरी तयारीका काम गरिरहेको छ । उपसमितिले गरेका काम एवं तयारीका बारेमा बुधबार बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गरिने कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

 भक्तजनको सवारी पार्किङका लागि तिलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त र महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारी गरी पाँच स्थान व्यवस्थापन गरिएको प्रचारप्रसार व्यवस्था उपसमितिका सचिव रेवतीरमण अधिकारीले जानकारी दिए । हंसमण्डप वनकालीमा नेपाल र भारतका कलकार भक्ति सङ्गीत एवं धार्मिक कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ । पशुपति सङ्गीत कला प्रतिष्ठानले वाग्मती पारी तीन दिनसम्म धार्मिक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तयार भएको छ ।

 महाशिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिङ्गारिने तयारीसमेत भएको छ । पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा नशालु पदार्थ निषेधित क्षेत्र घोषणा गरेकाले त्यसलाई कडाइका साथ पालना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ