arrow

जनावरबाट एक सय ४२ वटा घटना, मानवका लागि चितुवा बन्यो सबैभन्दा हानिकारक

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
leopard-01.jpg.jpeg

बलेवा । ढोरपाटन शिकार आरक्ष नाउर र झारलको शिकारका लागि प्रख्यात छ । यहाँ बर्सेनि साहसिक शिकारमा भाग लिने विदेशीले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारलको शिकार गर्ने गरेका छन् । 

शिकार आरक्ष क्षेत्रमा जसरी विदेशी शिकारी रमाइरहेका छन् त्यसैगरी आरक्ष आसपासमा रहेका बस्तीका नागरिकलाई वन्यजन्तुका कारण सास्ती पनि छ । आरक्ष क्षेत्र आसपासका सर्वसाधारणले बर्सेनि जङ्गली जनावरका कारण मानवीय तथा पशुधनको क्षति व्यहोर्दै आएका छन् । बासस्थान, ओहोरदोहोर गर्ने बाटो, पानी र मानवीय गतिविधिका कारण दिनचर्यामा खलल आएपछि वन्यजन्तुले मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेका छन् ।

आर्थिक वर्ष २०७६–७७ मा मात्रै शिकार आरक्ष आसपासका बस्तीमा १४२ वटा मानवीय तथा पशुधनको क्षति भएको छ । सरकारको नियमानुसार क्षतिका आधारमा आरक्ष आसपासका सर्वसाधारणले राहत पाउँछन् । सो अवधिमा १३८ घटना चितुवाले मात्रै घटाएको तथ्याङ्क छ ।

वन्यजन्तुको आक्रमणका कारण सात जना घाइते भएको तथ्याङ्क कार्यालयसँग छ । पाँच जना सख्त घाइते भएका थिए भने दुई सामान्य घाइते भएका थिए । सख्त घाइते पाँच जनाले ढोरपाटन शिकार आरक्ष कार्यालयबाट रु चार लाख २० हजार ८६४ राहत पाएका छन् ।

सामान्य घाइते दुई जनाका लागि रु २३ हजार ६०० राहत उपलब्ध गराइएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । आरक्षबाट बस्तीमा आउने चितुवाले घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । चितुवाबाहेकका जङ्गली जनावरले समेत क्षति पु¥याउने गरेका छन् । सो अवधिमा आरक्ष आसपासका क्षेत्रमा १३५ घरपालुवा जनावर मारिएका छन् । रु १३ लाख ८८ हजार ५०० राहत वितरण गरिएको तथ्याङ्क आरक्ष कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

“क्षति स–साना ठाउँमा हरेक क्षेत्रमा छ”, कँडेलले भन्नुभयो, “हामीले क्षतिको अवस्था हेरेर राहत दिन्छौँ, तथ्याङ्क हुन्छ, त्यसैले धेरै चर्चा हुने हो ।” गत आवमा कसैले पनि जङ्गली जनावरको आक्रमणका कारण ज्यान गुमाउनु नपरेको उहाँले बताउनुभयो । 

आरक्षमा नाउर र झारल शिकार गर्न पाइन्छ । बँदेलका कारण आरक्ष आसपासमा रहेका कयौँ किसानले लगाएको बालीनालीसमेत नष्ट हुने गरेको छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने शिकारका लागि विदेशी शिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १६४ प्रकारका पक्षी संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगङ्गा, गुर्जाखानी, रुद्रताललगायतका धेरै पर्यटकीय क्षेत्र पनि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ