arrow

महाशिवरात्रीमा मानव धर्मको विशेष सत्सङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २७ बिहिबार
manav-dharma-satsang.jpg

काठमाडौँ । महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले विशेष सत्सङ्ग समारोह आयोजना गरेको छ । समितिले काठमाडौँ, सुर्खेत लगायतका विभिन्न स्थानमा सत्सङ्ग गरेको हो ।  सो अवसरमा रक्तदान पनि गरिएको छ । रक्तदान कार्यक्रममा एक सय आठ जनाले रक्तदान गरेका छन् । समितिमा आबद्ध व्यक्ति तथा अन्य व्यक्तिले कार्यक्रममा रक्तदान गरेका हुन ।

सत्सङ्ग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली बाईँजीले महाशिवरात्रीको दिन मनमा भएको अन्धकारलाई हटाएर प्रकाशको बोध गर्नुपर्ने बताइन् । हरेक व्यक्तिको हृदयमा प्रकाशको विराट रूप हुने भएकाले त्यो विराटरुपलाई चिन्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा महात्मा वीणा बाईँजीले गुरु विना जीवन सफल हुन नसक्ने बताइन् । अभिमानले भरिएको यो शिरलाई गुरुको चरणमा झुकाएमा मात्र जीवनमा सकारात्मक विचारको विकास हुने र सकारात्मक विचारले जीवन सफल हुन सक्ने कुरामा उनले जोड दिइन् । कार्यक्रममा बोल्दै महात्मा ईला बाईजीले शान्तिका लागि मानिस संसारमा रहेका हरेक कुराका पछि लागिरहेको तर मन नै शान्त नभएका कारण शान्ति पाउन नसकिरहेको बताइन् । अशान्त मनलाई अधातमले मात्र शान्त बनाउन सक्ने उनले स्पष्ट पारिन् ।

सुर्खेत सत्सङ्ग कार्यक्रममा महात्मा पुनीत बाइजीले भगवान् शिव, शिवरात्रि पर्वको महिमा वर्णन गर्दै वर्तमान समयमा सनातन धर्म अर्थात् आत्म ज्ञान नजान्दा समाजमा अशान्ति बढेर मानिसहरू भक्तिको मार्गमा अलमलिएको औँल्याइन् ।

यसै अवसरमा नेपाल मानव धर्म सेवा समिति कर्णाली प्रदेश सुर्खेतले सत्सङ्ग समारोह तथा चेतनामूलक बृहत् र्‍याली निकालेर नगर परिक्रमा गरेको छ । समाजमा युवाहरू लागूपदार्थ तथा कुलतको दल–दलमा फसेकोले त्यसलाई सही मार्गदर्शन गर्न चेतनामूलक जागरण गराउन आवश्यक देखिएकोले वीरेन्द्रनगर चनौटे क्षेत्रमा बृहत् र्‍याली निकालिएको महात्मा पुनीत बाइजीले जानकारी दिइन्। समारोहस्थलमा ठुलो संङख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संस्थाले समाजमा आध्यात्मिक तथा सामाजिक क्रियाकलाप मार्फत समाजलाई सकारात्मक दिशातिर मार्गदर्शन गरेको भन्दै प्रशंसा गरेका थिए । 

कार्यक्रममा नेपाल मानव धर्म समितिका कार्यकर्ता उत्तम गिरीले आफूमा भएको नकारात्मक कुरा त्याग गर्नेहरूका लागि हरेक दिन महाशिवरात्री भएको बताए । आफूमा भएको नकारात्मक कुरालाई तिलाञ्जलि दिएर सकारात्मक कुराको विकास गर्न सक्नु नै हरेक पर्वको सार्थकता भएको उनको भनाई छ । ज्ञानी समाजले मात्र युग परिवर्तन गर्न सक्ने र युवाहरू जागरुप भएमा मात्र यो सम्भाव हुने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘संसारमा जति पनि व्यक्ति सफल, प्रख्यात भएका छन्, उनीहरू सबैले आफूले आफूलाई चिन्नुपर्ने, अन्तर मनको यात्रा गर्नुपर्ने बताएका छन् । यो अन्तर्मनको यात्रा अध्यात्म विना सम्भव नभएकोले अध्यात्मको शरणमा आउन आग्रह गरेका छन् । यिनै सफल व्यक्तिहरूले दिएको सन्देशलाई आजका हर व्यक्तिले समयमा नै बुझ्नुपर्ने र अन्तर्मनको यात्रा सुरु गर्नुपर्छ ।’कार्यक्रममा भजन, नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ