arrow

पूर्वी नवलपरासीमा ५१ सय हेक्टर वन क्षेत्रमा डढेलो, नियन्त्रणमा लिन कठिन

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ चैत १७ मंगलबार
dadhelos.jpg

कावासोती । पूर्वी नवलपरासीमा विगत एक हप्ता देखि लागेको डढेलो करिब ५१ सय हेक्टर वन क्षेत्रमा फैलिएको छ । करिब ७० हजार हेक्टर वन क्षेत्र रहेको जिल्लाको ४५ स्थानमा अर्थात् करिब ५१ सय हेक्टर क्षेत्रमा वन डढेलो लागेको डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

डढेलो फैलिएको ४५ स्थान मध्ये १३ स्थान मध्यवर्ती क्षेत्रको वन रहेको डिभिजन वन कार्यालय पूर्वी नवलपरासीका प्रमुख मोहन काफ्लेले बताए । काफ्लेका अनुसार मध्य विन्दु नगरपालिकाको चोरमारा र डन्डाबिचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको छ । मध्य विन्दुको करिब २ हजार हेक्टर, विनयी त्रिवेणीको सर्दीको माथिल्लो क्षेत्रमा करिब १४ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

डढेलोको कारण भएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन भई नसकेको भए पनि वन क्षेत्रमा फैलिएको डढेलोको कारण वन्यजन्तु हताहती भएको हुन सक्ने काफ्ले बताए । डढेलोको कारण वनमा घाटगद्दी गरेर राखिएको काठहरू अहिलेसम्म सुरक्षित रहेको र मानवीय क्षति नभएको काफ्लेले जनाए ।
 
यसरी जिल्लामा तीव्र रूपमा फैलिएको डढेलो नियन्त्रणमा लिन भने कठिन भएको काफ्लेले बताए । डिभिजन वन र मातहतका वन कार्यालय, सशस्त्र वन रक्षक, सशस्त्र प्रहरी , सामुदायिक वन समूह र उपभोक्ताको साझा प्रयासले डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहेको काफ्ले बताउछ्न ।

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको छ। यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठुलो क्षति गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ