- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपुर । एक हप्ता अगाडी गैँडा गणना टोलीलाई लखेटेर घाइते बनाएको ध्रुवे हात्ती बस्ती छेउछाउ देखिन थाले पछि नवलपुरको नारायणी नदी आसपासका बस्तीका बासिन्दा त्रसित भएका छन् ।
बिहीबार ध्रुवे हात्ती मध्यविन्दु नगरपालिकाको धजाहा क्षेत्रमा देखिए पछि निकुञ्ज प्रशासन , नेपाली सेना, स्थानीय सहितको टोलीले लखेटेको र हात्ती फेरि पनि आउन सक्ने भन्दै सजग रहन भन्दै मध्यविन्दु नगरपालिका वडा नं २ का अध्यक्ष नारायण पौडेलले अपिल गरेका छन् । पौडेलले स्थानीयमा त्रास बढेको भन्दै तत्काल आवश्यक कदम चाल्न निकुञ्ज प्रशासनको ध्यानाकर्षण समेत गराए ।
बिहीबार ध्रुवे हात्ती भुताहा पोस्ट आसपास देखिएको सूचना आफूहरूले पनि पाएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले ध्रुवे हात्ती अहिले पनि निकुञ्जको तल्लो भाग पश्चिम सेक्टरको गैँडा खासा टेम्पल क्षेत्रमा रहेको बताए । गणनामा प्रयोग गरिएको पवनकली हात्तीलाई पछ्याउँदै ध्रुवे निस्किएको हुन सक्ने अधिकारीले बताए ।
"अहिले ध्रुवे हात्ती निकुञ्ज भित्रनै छ, गैँडा गणनाको क्रममा हल्लाखल्ला भएकाले पनि बाहिर देखिएको हो, गणना सकिए पछि हल्लाखल्ला कम हुने हुँदा बाहिर निस्किदैन" अधिकारीले बताए । निकुञ्ज यति बेला गैँडा गणनामा व्यस्त रहेको र ध्रुवे हात्तीको व्यवस्थापनमा केही नसोचिएको अधिकारीले बताए ।
निकुञ्ज भित्र घाँसे मैदानको अभाव भएर निकुञ्जका हात्ती गैँडा लगायतका जनावर बाहिर निस्किएको बताउँदै संरक्षणकर्मी श्रीधर भट्टराईले परम्परागत रूपमा गरिने खर खडाइलाई व्यवस्थापनलाई सुरु गरेर जनतालाई उपलब्ध गराउन दिने हो भने ती ठाउँमा घाँसे मैदान बन्न सक्ने र जनावर बाहिर न आउने बताए । अहिले देखिएको ध्रुवे हात्ती मात्रै होइन निकुञ्जबाट निस्किने अरु जनावरको कारणले स्थानीय र वन्यजन्तु बिच द्वन्द्व बढेको बताउँदै यस विषयमा निकुञ्जले उचित कदम चाल्नु पर्ने भट्टराई बताउँछ्न् ।
गत चैत २० गते नवलपुरको मध्यविन्दु नगरपालिका –२, नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैँडा खासा टेम्पल क्षेत्रमा गैँडा गणनामा खटिएका टोलीलाई ध्रुवे हात्तीले लखेटेपछी गणना गर्ने हात्तीबाट खसेर कम्तीमा ५ जना घाइते भएका थिए।