arrow

ट्राफिक प्रहरीले सुरु गर्‍यो कोरोना सचेतना अभियान

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत ३० सोमबार
traffic-doti-1618219904.jpg

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ (कोरोना) भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न भन्दै सचेतना अभियान थालेको छ । 

महाशाखाले सोमबारबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सो भाइरसबाट सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान सुरु गरेको हो । 

‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पुरानो बसपार्कबाट सोमबारदेखि अभियान थालनी गरिएको घोषणा गरेका हुन् । 

भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड १९ विरुद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सुरुवात गरिएको बताए । 

कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्नेमा उनले जोड दिए । 

सो कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघ/युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्वारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा धारणा राखेका थिए । 

उनीहरुले निरन्तर रुपमा सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीलाई आग्रह गर्दै सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको समेत बताए । 
कार्यक्रममार्फत ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरी कायम गरी सवारी साधनको प्रयोग गर्नुहुन अनुरोध गरेको छ । 

कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरूमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ