- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालमा फेरि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । बढी जसो मानिसहरू ७० प्रतिशत बढी सङ्क्रामक रहेको बेलायती भेरियन्टबाट सङ्क्रमित भइरहेका छन् । जस कारण सङ्क्रमण झनै बढी रहेको छ ।
काठमाडौँ उपत्यकामा एक सातामा सङ्क्रमणपछि गम्भीर अवस्थामा अस्पताल भर्ना हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । सबैजसो अस्पतालका आइसियु बेडहरू समेत भरिन थालेका छन् ।
यस्तैमा काठमाडौँ उपत्यकाको अत्यधिक वायु प्रदूषणले सङ्क्रमितको अवस्था झनै जटिल बनाएको छ । नेपालमा अहिले बेलायती भेरियन्टकै सङ्क्रमण बढेको सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपाल बताउँछन् । भाइरसले सबैभन्दा बढी आक्रमण गर्ने श्वासप्रश्वास प्रणालीमा भएको कारणले पनि देशभर रहेको वायु प्रदूषणले गर्दा सङ्क्रमितको अवस्था नाजुक हुनसक्ने बताइएको छ।
वायु प्रदूषणले सङ्क्रमितको अवस्था झनै गम्भीर बन्दै
सशस्त्र प्रहरी अस्पतालमा ३४ जना सङ्क्रमित भर्ना भएका छन् । तीमध्ये ११ जना आइसियुमा छन् । त्यस्तै शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पताल टेकुमा हिजोसम्म १७ जना सङ्क्रमित आइसियुमा रहेका थिए । त्रिभुवन शिक्षण अस्पताल टिचिङमा ३ जना आइसियुमा रहेका थिए । कोरोना सङ्क्रमितहरूमा खास गरी श्वासप्रश्वासमै मुख्य समस्या हुन्छ ।
तर, सङ्क्रमितले श्वास फेर्ने हावा नै अत्यधिक प्रदूषित हुँदा उनीहरूको अवस्था झनै जटिल बन्ने सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।
सङ्क्रमित दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिकाहरूको हकमा उपत्यकाको प्रदूषित वायुले झनै जटिल अवस्था बनाइरहेको डा. प्रवीण नेपालको भनाइ छ ।
स्वस्थ व्यक्तिहरूमा नै घाटी दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या वायु प्रदूषणले गराउने वातावरणीय स्वास्थ्य विद् डा. यादवराज जोशी बताउँछन् ।यस्तोमा कोरोना भाइरसबाट सङ्क्रमित हुँदै श्वासप्रश्वास प्रणालीमा जटिलता सिर्जना भई सङ्क्रमितको अवस्था गम्भीर हुनसक्ने देखिन्छ ।
कस्ता लक्षण छन् नयाँ सङ्क्रमितमा ?
पछिल्लो समय अस्पताल भर्ना हुने बढी जसो सङ्क्रमितमा श्वासप्रश्वासमा समस्या र ज्वरोको मुख्य लक्षण रहेको छ ।तर, यसबाहेकका (पेट दुख्ने वा अन्य) लक्षण भएका सङ्क्रमितहरू पनि पचास जनामा १ जना आउने गरेका छन् । तर, एक दुई जना यस्ता बिरामी आउँदैमा यसलाई लक्षण नै हो भन्न नसकिने चिकित्सकहरूको भनाइ छ ।
कस्ता समस्या छन् सङ्क्रमितमा ?
बिरामीले श्वासप्रश्वासमा समस्या महसुस गरे पनि सङ्क्रमितको किड्नीमा समेत असर भइरहेको पाइएको छ । सङ्क्रमणपछि किड्नीमा समेत समस्या भएका बिरामीहरू आइसियुमा समेत रहेको डा. नेपालले बताए । मुख्य जसो सङ्क्रमितमा श्वासप्रश्वास सम्बन्धी, ज्वरो आउने र खोकी लाग्ने जस्ता समस्याहरू पाइएका छन् ।
महिला र बच्चामा किन बढ्यो सङ्क्रमण ?
कोभिड१९ महामारीको सुरुवाती चरणमा पुरुषहरूमा मात्रै बढी जसो सङ्क्रमण भइरहेको देखिएको थियो । तर, पछिल्लो समय पुरुष, महिला र बालबालिकाहरूमा हाराहारीकै सङ्ख्यामा सङ्क्रमण भइरहेको छ ।
सोमबार थपिएका ४ सय ९६ सङ्क्रमितमध्ये १ सय ६९ महिला, २ सय ८९ पुरुष र ३७ बालबालिका रहेका थिए ।महामारीको सुरुवाती अवस्थामा पुरुषहरू बाहिर बढी ‘एक्सपोज’भएका कारण बढी सङ्ख्यामा पुरुषहरू सङ्क्रमित देखिएको चिकित्सकहरूको भनाइ छ ।
अहिले बालबालिका एवं महिलाहरू पनि बाहिर बढी हिँडडुल गरिरहेका कारण उनीहरूमा पनि सङ्क्रमण बढेको डा. नेपालको भनाइ छ ।
यसबाहेक ठ्याक्कै भन्न नसकिए पनि भाइरसको स्वरूप परिवर्तन भएपछि बढी सङ्क्रामक भएका कारण पनि सबैमा सङ्क्रमण बढी रहेको हुनसक्ने विज्ञहरूको अनुमान छ ।
पुनः सङ्क्रमणको सम्भावना के छ ?
कोरोना भाइरसबाट पुनः सङ्क्रमण भएका थुप्रै ‘केस’हरू अस्पतालमा भर्ना भएका छन् । सङ्क्रमण भएको केही महिनापछि शरीरमा बनेको एन्टीबडी कमजोर हुँदै जाँदा फेरि सङ्क्रमण हुने सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् ।
अर्को कारण भनेको भाइरसको जिन परिवर्तन भएका कारण पनि यसअघि सङ्क्रमित भएकाहरूमा फेरि सङ्क्रमण हुने सम्भावना रहेको छ ।
पहिलो डोज लाएका ८ जनामा अस्पतालमा
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मात्रै कोरोना भाइरसको पहिलो डोज लगाएका ८ जना सङ्क्रमित रहेका छन् ।अस्पतालकै दुईजना नर्स र एक जना डाक्टरसहित ८ जना भर्ना छन् ।उनीहरूमा सामान्य रुघाखोकी देखिए पनि गम्भीर अवस्था भने देखिएको छैन ।
खासमा दोस्रो डोज लगाएको केही सातापछि मात्रै पूर्ण रुपमा एन्टीबडी बन्ने खोप निर्माताहरूले बताउँदै आएका छन् ।यद्यपि पहिलो डोज लगाएकाहरूमा सङ्क्रमण भए पनि अवस्था गम्भीर भने नहुने देखिन्छ ।
दोस्रो डोज लगाएपछि पनि शरीरमा भाइरस प्रवेश गर्ने र परीक्षण गर्दा पोजेटिभ आउने सम्भावना हुने विज्ञहरु बताउँछन् । तर, एन्टीबडीले भाइरसलाई मार्ने हुँदा सङ्क्रमित व्यक्ति बिरामी वा गम्भीर बिरामी नहुने हुन्छ ।