arrow

चितवन मेडिकल कलेजमा महानगरवासीलाई ५० प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
CMC-news.jpeg

चितवन । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आइतबार यससम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’ मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउनेछन् । अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ । 

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । 

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहृका छन् । 

छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ । यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । 

स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन् ।

महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रम भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ । 

शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ । 

महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ ।

यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ । सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ । 

त्यस अवसरमा महानगर प्रमुख दाहालले भरतपुर मेडिकल सिटीका रूपमा विकास हुँदै गएको चर्चा गर्दै यहाँका अस्पतालको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुसीको कुरा भएको बताए ।

उनले भने, “अस्पतालै अस्पतालको सहर भनिने यहाँका जनताले पाउने सुविधा के ? भन्ने प्रश्न थियो । भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ ।” 

प्रमुख दाहालले सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको र यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताए । 

उनले अगाडि भने, “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरूको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उनको भनाइ छ । 

चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा न्यौपानेले देशकै नमूना अस्पताल रहेको भरपुरका नागरिकले यसबाट लाभ पाउनुपर्ने र त्यसका लागि छुट सम्झौता गरेको बताए । 

“नेपालमा सबैभन्दा धेरै बिरामी र स्पेसलिष्ट सेवा, शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज हो, सिएमसी क्यान्सर अस्पतालमा बिपी काइराला मेमोरियल क्यान्सर अस्पतालको भन्दा एक रुपैयाँ बढी शुल्क लिएका छैनौँ, क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौँ, त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ”, उनले भने ।



नयाँ