arrow

उच्च जोखिम जिल्लाका विद्यालय बन्द गर्ने निर्णय डिसिसिएमलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Education-ministry.jpg.jpeg

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ को अनुसरण गर्न समेत निर्देशन दिएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए ।

उनले भने-प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्ने निर्णय डिसिसिएमले गर्न सक्ने मन्त्री श्रेष्ठले बताएका छन् ।

मन्त्रालयले  हालैका दिनमा कोभिड-१९ को संक्रमण पुनः बढ्दो अवस्थामा रहेको र त्यसबाट विशेषतः विद्यालय जाने उमेर समूहका विद्यार्थीहरूमा संक्रमण फैलिन सक्ने भनी व्यक्त भएका चिन्ता र चासो प्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै वक्तव्य जारी गरेको छ ।

मन्त्रालय चैत्र ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने समेत उल्लेख छ ।  स्वास्थ्य समावेदनशीलतालाई ख्याल गरी थप सजगता अपनाउनु सबैको कर्तव्य रहेकोले नेपाल सरकारबाट थप निर्णय वा निर्देशन नभएसम्म मन्त्रालयले

जनस्वास्थ्य सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नु गराउनु हुन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनु  आग्रह गरेको छ ।

मन्त्रालयले ३ बुँदे निर्देशन जारी गरी भिडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न,  विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नु हुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिन आग्रह गरेको छ ।

बैठकमा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए । उनले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेका छन् । बैठकमा विज्ञान सचिव डा. सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरे ।

उनले पछिल्लो अवस्थामा कोभिड-१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई संक्रमण देखिएको बताउँदै सबै क्षेत्रमा गम्भीर हुनुपर्ने बताए ।

बैठकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बेकुष्ठ अर्याल, मन्त्रालयका सहसचिव डा. हरि लम्साल, सहसचिव हिमनारायण श्रेष्ठ, डा. तुलसी थपलियाले विद्यालय बन्द र सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिन सुझाएका थिए ।

बैठक लगत्तै प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले कोभिड-१९को अवस्थामान विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जिल्ला र केही शहरका विद्यालय बन्द गर्न आह्वान गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ