arrow

तीन मन्त्रीद्वारा दार्चुला-तिङ्कर सडकको हेलिकप्टरबाटै निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
darchula-tinkar--road.JPG

दार्चुला । महाकाली करिडोर अन्तर्गत निर्माण भइरहेको दार्चुला-तिङ्कर सडकको हवाई निरीक्षण गरिएको छ । सडकको कार्य प्रगति निरीक्षण गर्न दार्चुला पुगेका सरकारका तीन मन्त्रीहरूले हेलिकप्टरबाटै हवाई निरीक्षण गरेका हुन् ।

निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत दार्चुलाको सुन्सेरा पुगेको हो ।  

दार्चुला-तिङ्कर सडकको निरीक्षण पश्चात् जिल्ला सदरमुकाम खलङ्गामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले वर्तमान सरकारको पालामा ठूलठुला भौतिक पूर्वाधारका कामहरू भइरहेको बताए ।

सरकारले दार्चुला-तिङ्कर सडकलाई राष्ट्रिय महत्त्वको सडकको रूपमा विकास गरिरहेको बताउँदै अगामी आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर द्रुत गतिमा सडक निर्माण गरिने जनाए । लामो समयदेखि निर्माण कार्य सुरु भएको यो सडकले हालसम्म गति लिन नसके पनि अगामी दिनमा अत्यन्तै महत्त्वका साथ निर्माण गरिने उनको भनाइ थियो । सडकको कार्य प्रगतिबारे दार्चुला तिङ्कर सडक योजनाका तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा सहभागीहरूले कछुवा गतिमा भइरहेको विकास निर्माण कार्यबारे प्रश्न तथा जिज्ञासा राखेका थिए । साथै सरकारले यो सडकलाई महाकाली कोरिडोरमा गाभेर निर्माण कार्यमा ढिलो गरेको कुरा उठाएका थिए ।

महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला-तिङ्कर सडक निर्माण कार्यले गति लिन सकेको छैन । २०६५ सालबाट निर्माण कार्य सुरु गरिएको सो सडकको अहिलेसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि सुन्सेरासम्म ४३ किलोमिटर मात्रै ट्रयाक खुलाइएको छ ।

सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला-तिङ्कर सडक खण्डको १३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबेगरदेखि तिङ्करसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रीहरूको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, प्रतिनिधि सभा सदस्य कविता बोगटी, पूर्व उद्योग मन्त्री कर्ण थापा लगायत रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ