arrow

सार्बजनिक जग्गामा गिद्देदृष्टी: झापामा एक विद्यालयको आठ बिगाहा जग्गा अवैध भोगचलन 

logo
युवराज रेग्मी 
प्रकाशित २०७८ वैशाख ११ शनिबार
Ambar mavi-jhapa.jpg

झापा । झापाको गौरादह नगरपालिका-९ स्थित अमर माध्यमिक विद्यालयको नाममा रहेको करिब आठ बिगाहा जमिन त्यहाँका स्थानीयहरुले बर्षौदेखि अनाधिकृत रुपमा भोग चलन गर्दै आएको पाइएको छ ।

बि.स. २०२५ सालमा विधिवत रुपमा स्थापना भइ अमर प्राबिको नामबाट संचालित विद्यालयको नाममा  बि.स.२०२१ सालको फिल्ड बुकमा  श्रेस्ता कायम रहेको सार्बजनिक जग्गा विभिन्न समयमा ‘भूमाफिया’हरुले अबैध तरिकाले आफ्नो नाममा दर्ता गरेको खुलेको छ ।

यसै क्रममा  बि.स.२०२६ सालमा महाभारा निवासी सत्य राजबंशी र चमक राजवंशीको नाममा रहेको २९ बिगाहा १० धुर जग्गा विद्यालयले  धितो लिलाम सखार गर्दा विद्यालयको नाममा रहेको १२ कठ्ठा जग्गा पनि सुनियोजित ढंगले सोही जग्गाहरुको साथमा लिलामी प्रकृयामा राखी लिलाम गराई बिद्यालयकै तात्कालिक प्रधानाध्यापकले आफ्नो नाममा न्यून मुल्यमा खरिद गरेको  पाइएको छ ।

त्यस पश्चात् महाभारा निवासी सम्बन्धीत जग्गा धनी राजबंशीले आफ्नो जग्गा लिलाम फिर्ता गराउन मुद्दा गरेकोले अन्ततः बि.स. २०२९ सालमा मुद्दाको किनारा फैसलाद्वारा साबिक जग्गाधनीको जग्गा लिलाम फिर्ता भएको  थियो ।

तर सोही समयमा विद्यालयको नाममा रहेको लिलाम गरिएको जग्गा भने फिर्ता नगरी  बि.स. २०३२ सालमा तात्कालिक समयमा विद्यालयका प्र.अ. समेत रहेका यमनाथ ढुंगानाले १२कट्टा जग्गा चक्र प्रसाद पोखरेललाई बिक्री गरेको समेत प्राप्त जानकारीमा खुलेको छ।

त्यसैगरि विद्यालयको नाममा फिल्ड बुक रहेको अर्को ३ बिगाह १० धुर जग्गा पनि विभिन्न ब्यक्तीहरुलाइ आर्थिक प्रलोभनमा पारेर स्थानीय राम बहादुर पौडेलले आफ्ना ज्वाइँ सैनध्वज भट्टराईको  नाममा दर्ता गराइ जग्गाको लालपुर्जा ल्याएको बुझिएको छ । साथै उनले हाल विद्यालयको उत्तरतर्फ रहेको जग्गामा व्यवसायिक प्रकृतिको टहरा निर्माण गरि वर्षौंदेखि भाडा समेत असुली गर्दै आएका छन् ।

त्यसैगरि विद्यालयकै नाममा रहेको १ बिगाहा १० कठ्ठा जमिन पनि अबैध तरिकाले कागजात तयार पारी  मोहियानी कायम गराइ ब्यक्तिको नाममा दर्ता गरि ल्याइएको बुझिएको छ । विद्यालयकै नाममा फिल्ड बुक रहेको दुई बिगाहा १० कठ्ठा जग्गा एकलौटी रुपमा मुद्दा फैसला गराइ इन्द्र बहादुर अधिकारिले आफ्नो नाममा दर्ता गराएका थिए ।

तात्कालिक समय बि.स.२०५७  देखि २०६०सालसम्म विद्यालय व्यवस्थापन समिति समेत रहेका हाल गौरादह नगरपालिका वडा न ९ का वडा अध्यक्ष सिताराम भट्टराईले बिद्यालयको नाममा रहेको बि.स.२०२१ सालको फिल्डबुकमा विद्यालयको नाममा रहेको जग्गाहरु खोजबिनका लागि प्रयास गरेका थिए ।

त्यसै गरि बि.स. २०५४ सालमा गरिएको सर्बपक्ष निर्णयद्वारा हाल विद्यालयको कम्पाउड रहेको ५ बिगाह १० कठ्ठा जग्गा तात्कालिन समयमा बि. ब्य.स. सिताराम भट्टराईको अथक प्रयासमा विद्यालयलाई प्राप्त भएको २०३९ सालदेखि २०७१ सालसम्म सोही  विद्यालयका प्रधानाध्यापक रहेका  शुरेस ब.पौडेलले जानकारी दिएका छन् । हाल विद्यालयको नाममा रहेको  ११ बिगाहा १३ कठ्ठा ६ धुर जग्गा मध्ये अधिकाम्स जग्गामा त्यहाँका स्थानियहरुले अस्थाइ तथा स्थाइ संरचना तयार गरि बसोबास गर्दै आएका छन् ।

विद्यालयको स्वामित्वमा रहेको जग्गामा हाल एउटा सामाजिक सस्था ॐ सान्तीको आरसिसि भबन निर्माणाधिन अवस्थामा छ । विद्यालयको स्वामित्वमा रहेका जग्गामा स्थानिय ब्यक्तिहरुले करिब एक दर्जन जति साना ठुला घर बनाइ वर्षौंदेखि बसोबास गर्दै आए पनि सार्बजनिक जग्गाको निर्णयात्मक खोजीकार्यमा कोही नजुटेको पाइएको छ ।

साबिक बैगुन्धुरा गाबिस तथा हाल गौरादह नगरपालिकाको वडा न ९ को वडा कार्यालय रहेको भवन पनि विद्यालयकै जग्गामा रहेको छ । बिगतमा जग्गा प्राप्तिका लागि सरोकार पक्षहरूले साना तीना प्रयास गरेपनि निरन्तरताको अभावमा विद्यालयको सार्बजनिक जग्गामा अझैसम्म पनि स्थानिय ब्यक्तीहरुले हालिमुहालि गरिरहेको हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले बताए ।

विद्यालयको दुराअवस्थाको बारेमा हाम्राकुरा प्रतिनिधिसँग कुरा गर्दै विद्यालयको स्वामित्वमा रहेको जग्गाको राजस्व २०६९ सालदेखि  हाल आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता रु ३४००० पुगेकोले उक्त बक्यौता राजस्व रकम तिर्न विद्यालयको कुनै आर्थिक श्रोत नभएको गुनासो ब्यक्त गरे।

नेपाल सरकारले सरकारी विद्यालयहरुको भौतिक बिकास र रेखदेखको उद्देश्य राखी समुदायलाई हस्तान्तरण गरेको भएतापनि त्यसको सरोकार पक्ष र ब्यबस्थापनको आधिकारिक जिम्मा पाएको ब्यबस्थापन समिति र राजनितिक आर्शिवाद र दलगत भागबन्डा मार्फत आउने  समितिको नेतृत्वले उचित ध्यान पुर्‍याउन नसक्नु सामुदायिक विद्यालयका लागि पिडादायी विषय बनेको देखिन्छ ।

राज्यले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि वर्षेनी मोटो रकम खर्चदै आएपनि बजेटको उचित सदुपयोग नहुँदा विद्यालयका समस्या ज्युकात्यु  रहेको देखिन्छ । अर्को तर्फ सामुदायिक विद्यालयहरुमा शिक्षकहरुको हितका लागि भनी खोलिएका  विभिन्न पेसागत सस्थाहरु र तिनिहरु मार्फत गरिने चरम राजनीतिले विद्यालयको भौतिक बिकासमा नकारात्मक असर पर्ने गरेको देखिदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ